आमाको मुख हेर्ने दिन एक विवाहित छोरीले भोगेको कथा

बिहीबार, मंसिर ८, २०७९

शनिबार, मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । पुषमा बुवा बिरामी हुदाँ माइत गएकी उनी करीब ४ महिनापछि आज आमा भेट्न माइती जाँदैथिइन् । उनी अर्थात विवाहित छोरी । उनी बिहान सबेरै उठिन् । निन्द्रा नखुल्ला भनेर राति नै लगाएको अर्लाम ४ बजे बज्नु अघि नै उनका आँखा खुलिसकेका थिए । माइती जाने उत्साह उनमा जो थियो । छेउमै सुतेकी छोरी र श्रीमान उठ्लान भनेर उनले आफू उठेर अर्लाम बन्द गरिन् ।

पहिले नुहाइधुवाई गरी, त्यसपछि घर सफा गर्न थालिन् । पहिले पूजा कोठा, बैठक कोठा, बार्दली, सिढी बर्ढादै उनी तल झरिन् । त्यसपछि भान्सा, दलान र आगन हुदैँ उनले घरको सफाइ सकिन् । लगत्तै निकै बेरको मेहनतपछि उनले चुलामा आगो सल्काइन् । कित्लीमा पानी बसाएर उनी बाहिर छोरीले पिसाब फेरेका सुरुवाल धुन थालिन् । बिहानको पाँच बजे चिसोमा पनि उनका निधारमा पसिना थिए । कपडा निचोरेर आगनको डोरीमा सुकाइन् । प्लाष्टिकको जालीवाल डालो बोकेर उनी फूल टिप्न निस्किन् ।

आउँदा पानी उम्लिसकेको थियो । कित्लीलाई भुईंमा राखेर उनले खोले बसाइन् । गोठबाट बाछो र गाई आगनको किलोमा निकालेर बाँधिन् । डोकोबाट निकालेर घाँस दिइन् । दुध दुहुने बाल्टी सफा पारिन् र तयारी अवस्थामा राखेर एक घुट्को तातो पानी पिएर उनी माथि उक्लिन् । चार्जमा भएको मोबाइल निकालिन् । राति नै तयार पारेको आमा र सासु आमाको फोटो हालेर उनले फेसबुकमा स्टाटस लेखिन्, ‘हजुरहरु दुबै आमामा, आमाको मुख हेर्ने दिनको शुभकामना ।’

मोबाइललाई पुनः चार्जमा हालेर उनले बिस्तारै दराज खोलिन् । दराजबाट कपडा निकालेर टेबलमा राखिन् । मेकअपको सामान निकालिन् र त्यहि टेबलमा राखिन् । अनि खिट्टिक बत्तीको स्विच थिचिन । कोठामा बत्ती बलेपछि छोरी खट्पटाइन् । संगै सुतेका श्रीमानले चाल पाएनन् । छोरीलाई केहीबेर थप्थपाए पछि छोरी फेरि निदाइन् । त्यसपछि उनले शुरुमा मेकअप लगाइन् । गहनाको डब्बाबाट गहना पनि पहिरिन् ।

ससुरा उठेको चाल पाएपछि घरकै कपडामा उनी तल झरी । ससुरालाई चिया पकाएर दिएपछि माथि आएर श्रीमानलाई उठाइन् । श्रीमानले केहीबेर अझै सुत्न मन गरे पनि उनले कर गरेर सुत्न दिइनन् । श्रीमान तल झरे र नित्यकर्ममा लागे । उनी भने कुर्ता सुरुवाल लगाउन थालिन् । तर के चित्त बुझेन कुन्नी, फेरि सारी निकालेर लगाइन् । अनि बाँकी मेकअप गर्न थालिन् ।

श्रीमान माथि आए । कपडा लगाए । यतिञ्जेलमा उठिसकेकी सासुले बुहारी पकाएको बाँकी चिया तताइन् र एकफेर हप्काइन्, ‘हैन ! अझै जाने सुरसार छैन तिमेरको ? साढे ६ बज्न आट्यो ।’ उनी आत्तिइन्, तर श्रीमान भने ‘के हतार भन्दै’ तल झरे । सासुले पकाएको चिया खादैं श्रीमान मोटरसाइकल पुस्न थाले ।

ससुरा भने दुधको बाल्टी बोकेर डेरी तिर लागे । यतिञ्जेलमा सुतेकी छोरी पनि उठिन् । उनको मुख पुसेर कपाल कोर्दिन खोजिन् । छोरी रुई । सासुले तलबाट कराइन्, ‘यता ले म फकाउँछु ।’ तर छोरीले आमा छाड्न मन गरिनन् । उनले रुवाउँदै कपाल कोरी दिएर तल झारिन् । सासुले तानेर भनिन्, ‘खै जामा ले यसको लगाइ दिउँ ।’ उनले दौडदै जामा दिएर गइन् । तर छोरी रुन छाडिन । रुवाउँदै सासुले जामा लगाइदिइन् । छोरी नमानेपछि फेरि माथि गइन् । उनले छोरीलाई आँखामा गाजल लगाइ दिइन्, चप्पल लगाइदिइन्, हातमा चुरा लगाइ दिइन् । तर सबै सामान चलाउन थालेपछि छोरी फेरि तल सासुलाई दिएर उनी माथि चढिन् । छोरी फेरि रुन थाली ।

बाइक पुसिसकेका श्रीमान छोरीलाई फकाउन थाले । ‘के भो मेरो सानुलाई खै खै । उ त्यो के हो ? कुकुर हो । त्यो के हो ? बाख्रा हो । त्यो के हो ? मोटरसाइकल हो । त्यो के हो ? गाई हो । उ त्यो को हो ? बुवा हो । बुवा आउनु आउनु । आउनु आउनु ।’ डेरीबाट फर्केका ससुराले ल्याइदिएको चकलेट खाएपछि छोरी रुन छाडिन् ।

उनी माथिबाट सजिएर भुइँमा झरिन् र श्रीमानलाई कराइन्, ‘खै त अझै ल्याको छैन ।’ श्रीमानले ‘पख न’ भन्न नपाउँदै उनले फेरी कराइन्, ‘ढिलो भो क्या’ । यति सुनेपछि श्रीमान मोटरसाइकल लिएर हिँडे । ससुराले उनलाई सोधे, ‘अनि भाइ आउँछ त ? कति बेला आउँछ’ । उनले जवाफ दिइन् ‘आउँछ बुवा, ९ बजे आइपुग्ला’ । ससुराले घडी हेरेर भने ‘ढिला भो त ? सात बज्नै आट्यो’ । उनी छोरी बोकेर भान्सा छिरिन् र छोरीलाई लिटो पकाएर ख्वाउन थालिन् । लिटो ख्वाइसकेपछि बाहिर निस्किन् र प्लेट माझिन् । अनि पुजाकोठाबाट थाली ल्याएर टिका बनाइन्, थालीमा फुल टिपेर राखिन् । छेउमा एउटा पत्रिकाले बेरेको पोको राखिन् ।

यतिकैमा मोटरसाइकल आगनमा आएको सुनेपछि उनी निस्किन् । ‘कति ढिला ग¥या ?’ श्रीमानले जवाफ दिए, ‘कति कराउँछे । भीड छ त पसलमा आज झन्’ । श्रीमानले दुईवटा अलग अलग पोको दिए । एउटा पोको उनले ब्यागमा हालिन् । अर्काे पोको खोलेर थालमा एकएक मिठाई निकालेर राखिन् । बर्फी, पेडा, रसबरी, लालमोहन, कालाकान आदि ।

सासुलाई कुर्सीमा राखेर उनले र श्रीमानले टिका लगाइदिए । अघि ठिक्क पारेको पोको उपहार स्वरुप सासुको हातमा दिएर मुखमा मिठाई ख्वाइन् र खुट्टामा ढोगी । श्रीमानले पनि आमाको खुट्टा ढोगे र हातमा २ हजार नगद निकालेर दिए । ‘फोटो खोइ त ?’ उनले सोधी । ‘बुवा हामी दुबैजनाको खिचिदिनु न आमासँग’ उनले बुवालाई अनुरोध गरिन् । बुवाले मोबाइल लिएर खिच्न थाले । तर जति पटक खिचेपनि फोटो राम्रो आएन । कुनैमा आधा जिउ छैन । कुनैमा टाउको देखिएन । कुनैमा आसपासका कपडा पनि देखिए । धेरै पटक खिच्दा पनि फोटो भने जस्तो राम्रो नआएपछि ससुराले रिसाउँदै भने, ‘तिमेरको यो म खिच्न जान्दिनँ’ । ‘आ... पर्दैन क्या’ भन्दै कुर्सीबाट सासु उठिन् । यतिञ्जेलमा श्रीमानले आमासँग सेल्फी फोटो ३/४ वटा खिचे । बुहारी हात धोएर आइन् र जाउँ भन्दै छोरी बोकिन् ।

हिँड्न लागेकी बुहारीलाई रोक्दै सासुले भनिन्, ‘पख पख’ । थालबाट मिठाई निकालेर छोरीलाई दिदै सासुले भनिन्, ‘आमालाई ख्वाइ देउँ’ । तर यति भनिनसक्दै उनले मिठाई मुखमा हालिसकेकी थिइन् । फेरि अर्को मिठाई दिएर आमालाई ‘खुवा’ भनेपछि उनको मुखमा मिठाई पर्‍यो । श्रीमानले मोटरसाइकल स्टार्ट गरे । उनी हतारहतार मुख साडीले पुसेर मोटरसाइकलमा बसिन् । छोरीलाई बिचमा राखेपछि मोटरसाइकल अघि हुइकियो ।

चोकमा पुगेपछि मोटरसाइकलबाट तिनै जना झरे । केहीबेर पर्खेपछि बस आयो । बसलाई भाडा दिँदै श्रीमानले उनलाई २ हजार दिए । ‘कहाँ पुग्छ हौ’ यत्तिले भनेर उनी झर्किइन् । ‘हुनु परेन’ भन्दै श्रीमान थप झर्किए । ‘छैन भने भैगो । तपाईलाई छ त ?’ भन्दै उनी बस चढिन् । ‘छ छ’ भन्दै श्रीमानले छोरीलाई बसमा छिराए र गालामा म्वाई खाए । श्रीमानले बाइ नगर्दै गाडी अघि हुइकियो ।

गाडी करीब डेढ घण्टा गुडेपछि उनी माइती जाने चोकमा उत्रिइन् । भाइ लिन आएको थियो । उनी भाइको मोटरसाइकल चढेर हिँडिन् । करीब आधा घण्टा पछि १० नबज्दै उनी माइत पुगिन् । माइत पुगेर सबै दिदीबहिनीले आमाको मुख हेरे । उनले ब्यागमा श्रीमानले ल्याइदिएको मिठाईको पोको र १ हप्ता अगाडि नै बजार गएर किनेको साडी दिइन् । बाँकी छोरीमा एउटीले मोबाइल र अर्कीले सुनको टप दिए । आमाले कानमा टप लगाइन् । अनि डब्बाबाट मोबाइल निकालेर हेर्न थालिन् । आफूले किनेर दिएको साडीको कागजसम्म नखोलेपछि उनको मन भारी भएर आयो । उनी भित्र पसिन् । दिदीबहिनी आमासँग कुरा गर्न थाले ।

ढोकाबाट सबै चिहाइरहेको भाइ उनको पछिपछि कोठा छिर्यो र भन्यो, ‘मेरो पनि हेरिनन् आमाले चित्त नदुखा’ । ‘छैन के चित्त दुखाउनु’ भन्दै उनले ऐनामा हेरेर बगेका गाजल पुसिन् । ‘अब एउटी वकिलकी बुढी अर्की ठेकेदारकी बुढी तेरो बुढो पो सरकारी शिक्षक । उनीहरुका भइ हाल्छन् मनग्गे पैसा । मैले नि ब्याग देको खोलेरसमेत हेर्नु भएको छैन आमाले ।’ बोल्दा बोल्दै भाइको गला अवरुद्ध भयो । दिदी झन् भक्कानिदै रुइन् । बाहिरबाट दिदीबहिनी कराए ‘पस्केको हो ?’ ‘अँ पस्के पस्के आओ’ उनले बोलाइन् । ‘कति भोक लागेको छ’ कान्छीले भनिन् । ‘बिचरा आमा भेट्न भोकै हिडिकी !’ आमाले गाला सुम्सुम्याउँदै भनिन् ।

सबैसंगै बसेर निकै बेर लगाएर खाना खाए । त्यसपछि घरका गफ भए । बालापनका गफ भए । श्रीमानका प्रगतिका कुरा भए । आसपासका छिमेकी नातागोताका कुरा भए । केहीबेरको कुरापछि उनी छोरीलाई दुध ख्वाउँदै ढल्किइन् । बिहानदेखिको थकानले उनी निदाइन् ।

बाहिरको आवाजले उनको निन्द्रा खुल्यो । अरु दिदीबहिनी, एउटी मोबाइल हेरेर सुतिरहेकी थिइन् । अर्की आमासंग कुरा गर्दै थिइन् । उनी भान्सा कोठा छिरेर जुठा भाडा माझ्न थालिन् । भाडा माझेर उनले चिया बसाइन् । बाहिर ल्याएर आमालाई चिया दिदाँ आमाले उनले ल्याएको साडी लगाएको देखेपछि उनी खुसी भइन् । गला अवरुद्ध पार्दै उनले सोधी, ‘कस्तो छ आमा साडी ?’ । आमाले उनी तिर नफर्की ‘राम्रो छ’ भनिन् र अर्की छोरीसँगको कुरामा निरन्तरता दिइरहिन् ।

उनको मन फेरि भारी भयो । तर उनी बोलिनन् । करिब २ बजे सबै दिदीबहिनीले जाने तयारी गरे । कान्छी दिदी आफ्नो स्कुटरमा हिँडिन् । माइली आज माइतै बस्ने भएकाले मोबाइल हेर्दै भित्र कोठामा थिइन् । उनी जाने तयारी गर्दै थिइन् । आमाले उनलाई बोलाइन् र कुरा गर्न थालिन् । ‘साडी त साह्रै मनपर्ने पो ल्याइछस् त जेठी । ठ्याक्कै यस्तै चाहिएको थियो । कहाँ किनेको ?’ छोरीले बिस्तारै भनिन् ‘उतै बजारमा ।’

आमाले दिल खोलेर कुरा गर्दै गएपछि उनी भित्रैबाट खुसी भइन् । छोरीको अनुहार हेर्दै आमाले भनिन्, ‘कपाल त बिग्रेछ त खोइ काइयोले म कोर्दिन्छु’ । आमाछोरीले निकै बेर कुरा गरे । आमाले छोरीका सुखदुःख सोधिन् । उनका हात, गाला, टाउको सुम्सुमाइन् । उनी भित्र आमाप्रति माया झन् बढेर आयो । उनले आमाको अनुहार हेरेर आशु झारिन् । छोरीको आँखामा आशु देखेर आमाको पनि आँशु अडिएन । दुबै निकै बेर रोए । दुबैले रुनुको कारण भनेनन् । तथापि, उनीहरुले एकअर्कालाई सोधेनन् । तर दुबैलाई थाहा थियो, उनीहरु किन रुदैछन् ?

निकैबेर गफ भयो । छोरीलाई खाजा ख्वाएपछि उनी ऐना हेरेर कपडा मिलाउन थालिन् । भाइसँग मोटरसाइकलमा चढेर चोक आउने बेला आमाले हातमा कोशेली र मुठ्ठी भित्र पारेर केही पैसा दिइन् । उनले लिन मानिन । तर आमाले ब्यागको चेन खोलेर हालिदिइन् । भाइले मोटरसाइकल हुइकायो । चोकमा केहीबेर पर्खेपछि उनी बस चढिन् र घर फर्किन् ।

बसमा हुँदै श्रीमानलाई फोन गरेर उनले चोकमा बोलाएकी थिइन् । त्यसैले श्रीमान् उनी नपुग्दै चोक आइपुगेका थिए । श्रीमानको मोटरसाइकलमा बसेर उनी साँझ साढे ५ मा घर पुगिन् । पुग्नासाथ सासु ससुरालाई ढोगेर उनले झोलाबाट कोशेली निकालेर सासुको हातमा राखिदिइन् । केही मिठाई, कोक र एक दर्जन केरा लिँदै सासुले भनिन् ‘फुत्त गर आउनेले किन ल्याउनु पथ्र्याे र कोशेली ?’ उनी नबोली माथि कोठामा गइन् । कपडा खोलेर तल आइन् र घरधन्दामा लागिन् । उनी तल नआउँदै श्रीमान् मोटरसाइकल लिएर हिँडिसकेका थिए ।

दिनभरीको काम, खानपान, वस्तुभाउ सबै सकेर थकानयुक्त उनी कोठामा पुगिन् । श्रीमान टिभीमा फिल्म हेरिरहेका थिए । छोरी सुतिसकेकी थिइन् । सासु ससुराको कोठामा सानो आवाजमा रेडियो बजिरहेको थियो । उनले ब्यागमा हात हालिन् र मोबाइल निकालिन् । अनि फेसबुक खोलिन् । बिहान उनले हालेको फोटोमा कसैले नाइस लेखेका रहेछन् । कसैले आमाको मुख हेर्ने दिनको शुभकामना लेखेका रहेछन् । कसैले लाइक गरे तर कमेन्ट गरेनन् । अधिकांश कमेन्ट गर्नेले लाइक गरे । तर त्यहा एक जनाको कमेन्ट भने थिएन । न त त्यो व्यक्तिले लाइक नै गरेको थियो । ति थिए उनका श्रीमान् ।

आफ्नी आमासँग अंगालो हालेर मुस्काएको बिहान खिचेको फोटो हालेका उनका श्रीमानले श्रीमतीको आमाको फोटो फेसबुकमा हालेर शुभकामना दिएनन् । न त श्रीमतीको आमालाई फोन गरेर कुनै शुभकामना, सौहार्दता वा ममता नै देखाए । त्यो दिनभरी उनका श्रीमानले ४ वटा फेसबुक पोष्ट हालेका थिए । पहिलोमा आमासँगको फोटो थियो । दोस्रोमा यसपालीको चुनावी तालमेल राम्रै हुने भो । गठबन्धनको पल्ला भारी लेखेको थियो । तेस्रो, चारपाँच जना साथीसँग हुक्का तानेको फोटो हालेर ‘इन्जोय विथ फ्रेण्ड’ लेखिएको थियो भने चौथोमा पुरानो फोटो शेयर गरिएको थियो । तर आफ्नै श्रीमतीको आमाको फोटो हालेर उनले कुनै शुभकामना दिएनन् ।

उनले बिहानको पहिलो फोन, सालोलाई चोकमा दिदी ९ बजे आइपुग्छे लिन आउनु भनेर गरेका थिए । त्यसयता दिनभरीमा उनले ११ पटक अरुलाई फोन गरे । अन्तिम श्रीमती आउँदा बसमा हुँदै फोन गरेको उनको त्यो दिनको अन्तिम फोन थियो तर सासुलाई भने उनले फोन गरेनन् । यो बुझेर पनि उनले श्रीमानलाई किन मेरी आमालाई आमाको मुख हेर्ने दिनको शुभकामना दिनु भएन ? किन भेट्न जानु भएन ? किन फोनसम्म गर्नु भएन भनेर सोधिनन् । उनी जस्तै धेरै विवाहित छोरीले श्रीमानलाई सोध्दैनन् ।

यो कथा समाजका एक, दुई वा यस कथाकी पात्रको मात्र होइन अधिकांश विवाहित छोरीको कथा हो । आफूले फूल समान हुर्काएकी छोरी दिने आमालाई प्रायः ज्वाईले आमा मानेको पाइदैन । भेट भएको बेला थोरै सम्मान र मिठो बोले पनि धेरै ज्वाईंहरु अरु दिन त परै जाओस् आमाको मुख हेर्ने दिन पनि सम्झदैनन् । जुन श्रीमतीले आफ्नी आमालाई आमा मानेकी छ उनकी आमालाई आमा मान्न ज्वाईंहरु तयार छैनन् । न त आमालाई आमा समान इज्जत दिन्छन् । न त कहिल्यै ति आमा पनि आमा हुन् भनेर ठान्छन् । यो एक दुई जनाको मात्र होइन अधिकाशं ज्वाइको व्यवहार हो । आखिर बुहारीले सासुलाई आमा र ज्वाईंले सासुलाई केवल सासु कहिलेसम्म मान्नुपर्ने हो ? यो प्रश्न समाजमाथि ?

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्