स्थानीय तह निर्वाचन : वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच गठबन्धन

बिहीबार, मंसिर १, २०७९

वीरगञ्ज - वीरगञ्ज महानगरमा नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी तालमेल गर्ने भएको छ । आज (बिहीबार) वीरगञ्जमा पत्रकार सम्मेलन गरेर एमाले र लोसपाका नेताहरुले महानगरमा दुवै दलले चुनावी तालमेल गर्ने निणर्य भएको जानकारी गराएका हुन् ।

महानगरको मेयर एमालेले र उपमेयर लोसपाले लिने गरी चुनावी तालमेल गर्ने सहमति भएको दुवै दलका नेताको भनाइ छ । महानगरका ३२ वटै वडामा भने आपसी सहमतिमा उम्मेदवार तय गर्ने दुवै दलले जनाएका छन् । महानगरको मेयरमा एमालेले अहिलेका मेयर विजयकुमार सरावगीको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । उपमेयरमा भने लोसपाले जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा र नेतृ रम्भा मिश्रामध्ये एकजनालाई उम्मेदवार बनाउने सम्भावना छ ।

बिहीबार वीरगन्जको होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा वीरगञ्ज महानगरपालिकामा एमाले र लोसपा मिलेर निर्वाचनमा जाने सहमति भएको उल्लेख छ । एमाले पर्साका अध्यक्ष जय प्रकाश थारु र लोसपा पर्सा अध्यक्ष पुरुषोत्तमलाल झाको हस्ताक्षर रहेको विज्ञप्तिमा वीरगञ्ज महानगरको विकास र प्रगतिको लागि नगारिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र, र संघीयता प्रति प्रतिवद्ध रहेको दल एमाले र लोसपा, महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुन सहमत भएका छौं,’ भनेर विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव रघुविर महासेठले गणतन्त्र, लोकतन्त्र मास्ने अहिलेको सत्तागठबन्धनको विरोधमा र वीरगञ्जको विकासका लागि एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति भएको बताए । पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कणर्ले स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निणर्य केन्द्रीय समितिले गरेअनुसार , वीरगञ्ज महानगरमा एमालेसँग चुनावी तालमेल गरिएको बताए ।

उनले भने, ’अहिले वीरगञ्ज महानगरमा एमालेसँग तालमेल गर्ने सहमति भएको छ, देशका अन्य पालिकामा पनि दुवै दलबीच तालमेल गर्ने बारेमा छलफल चलिरहेको छ । मधेसका माग सम्बोधन गराउने शर्तमा यसअघि केपी ओली नेतृत्वको सरकारमा लोसपा सरकारमा गएको स्मरण गराउँदै कणर्ले ओलीले केहि माग सम्बोधन पनि गरेको बताए ।

आगामी दिनमा ओली नेतृत्वको सरकार बने मधेसका बाँकी माग पनि सम्बोधन हुने विश्वासमा अहिले महानगरमा एमालेसँग चुनावी तालमेल गरिएको उनले बताए । यता लोसपाका वीरगञ्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले भने महानगरमा एमालेसँग चुनावी तालमेल गर्ने कुनै सहमति नभएको बताए ।

सर्राफले भने, ‘पार्टीको महानगर अध्यक्ष म नै हुँ , तर एमालेसँग सहमति गर्नेबारे मलाई कुनै जानकारी छैन । पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल , केन्द्रीय सदस्यहरु राज कुमार गुप्ता , बसरुद्धिन अन्सारी र अरविन्द सिंह, जिल्ला अध्यक्ष जयप्रकाश थारु , लोसपाका नेताहरु शशीकपुर मिया , लोसपाबाट निर्वाचित सांसद विमल श्रीवास्तव , प्रदेश सांसद रमेश कुर्मी , प्रहलाद गिरी लगायतको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्