कोरोना संक्रमणको बढ्दो संख्या सुनेर आत्तिने नगरौं, यस्ता उपाय अपनाऔं - डा. रवीन्द्र पाण्डे

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र ढंगले फैलिदै गएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भइसकेको छ । यसैबीच डा. रवीन्द्र पाण्डेले बढ्दो कोरोनाभाइरसको संक्रमण संख्या सुनेर आत्तिन नहुने बताएका छन् ।

 डा. पाण्डेको भनाई यस्तो छ

- दैनिक संक्रमितको संख्या सुन्दा संक्रमण नभएका व्यक्तिलाई पनि मनोबैज्ञानिक असर पर्दछ । मनमा कल्पना, उत्साह, योजना आदि हराउंदै जान्छ । तसर्थ संख्या देखेर आत्तिने नगरौं । अमेरिका, युरोपमा दिनमा लाखौं संक्रमित हुँदा पनि अस्पताल भर्ना हुने तथा मृत्यु हुने संख्या एकदम न्यून छ। सबै काम चलिरहेको छ ।

- ओमिक्रोन छिटो फैलिने तथा सिकिस्त त्यति नपार्ने प्रजाति हो । हामी कोरोना भाइरससंग डराएको हैन, आफ्नो आर्थिक तथा भौतिक क्षतिप्रति डराएको हो । ओमिक्रोनले गम्भीर बनाउने सम्भावना कम हुन्छ भने किन डराउनु ?

- नेपालमा दैनिक १० हजार संक्रमित हुँदा पनि अस्पताल प्याक भएका छैनन् । अस्पताल भर्ना हुने, आइसीयु चाहिने संक्रमित एकदम न्यून छन् । खोप नलगाएका + गम्भीर दीर्घरोग लागेका व्यक्तिमात्र ओमिक्रोनको जोखिममा छन् ।

- सरकार लगायत कसैको आशा नगरौं ! आशा गर्दा निराशा हात लाग्छ । हामीले पटकपटक सम्बन्धित निकायलाई पिसिआर टेस्ट निशुल्क र वडावडामा गर, मास्क निशुल्क वितरण गर, दिनमा १० लाख व्यक्तिलाई खोप लगाउ भन्दा सरकारले सुन्दैन ।

- आफ्नो काम नछोडौं । डबल मास्क लगाएर, स्यानिटाइजर बोकेर काम गरौँ । खोप लगाऔं । भीडभाडबाट बचौं !  लक्षण देखिए परिक्षण गरेर घरमै बसौं ! हामीले गर्ने यहि हो । - खोप नलगाएका बालबालिका र जेष्ठ नागरिकलाई घरभित्र पनि आइसोलेसनमा राखौं ! उहाँहरुलाई बचाउनु हाम्रो दायित्व हो ।

- भेटघाट, बैठक, धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सकभर भर्चुवल वा खुला ठाउँमा एकदम थोरैको उपस्थितिमा गरौँ । वर्क फ्रम होम लाई अबलम्बन गरौँ ! यो महिना घुमफिर नगरौं 
 
- यो छाल यो महिनापछि घट्दै जान्छ । लामो समय रहँदैन । - अर्को पटक सिग्मा वा अर्कै नामको प्रजाति आउँछ । तसर्थ नामसंग डराउनु पर्दैन । सबैले खोप लगाएपछि भाइरस कमजोर बन्दै रुघाखोकीजस्तो हुनेछ । त्यसपछि यसको असर फ्लुको जस्तै हुनेछ । हामीलाई थाहा छ, गतसालको डेल्टाभन्दा अहिलेको ओमिक्रोन निकै कमजोर छ । यसरी कमजोर हुँदै गएर निष्प्रभावी हुने हो ।

-  महामारीको सिधान्त अनुसार गणना गर्नुपर्ने अवस्था छ । अन्यथा सबैले खोप, मास्क लगाउने, उपचार गर्नुपर्नेलाई उपचार गर्ने अनि यो दैनिक गणना नगर्ने हो भने मनोबैज्ञानिक असर कम हुन्थ्यो । गणना गर्नु सबै राष्ट्रलाई बाध्यता छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्