नेभिगेशन
सुरक्षा–अपराध

कोशीमा ट्रान्सफर्मर चोर्ने गिरोह पक्राउ

काठमाडौँ- कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संगठित र छुट्टाछुट्टै समूहमा रहेका उनीहरूले ०८१ माघ १५ गतेयता झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट २२ वटा ट्रान्सफर्मर चोरी गरेको जानकारी गराएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले लगातार र संगठित रूपमा ट्रान्सफर्मर चोरी हुन थालेपछि प्रादेशिक अपराध अनुसन्धान समूह तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ३५ जना प्रहरी अनुसन्धानमा परिचालित गरेर चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए ।

ट्रान्सफर्मर हुने तामा र तेलका कारण मुख्यतः चोरी गर्ने गरिएको पाइएको र सो चोरी गर्ने ७ जनासहित तामा किन्ने ५ जना गरी १२ जनालाई पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ ग्रामथानका अर्जुनकुमार माझी, इरज माझी, मोरङ बेलबारीका अर्जुन चौधरी, रञ्जित तामाङ, सुनसरी दुहबीका अनुज विश्वास, प्रयागकुमार खाँ चौधरी र भारतका आल मियाँ बिहारी छन् ।

यसैगरी चोरीको सामान खरिद गर्ने विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन् । उनीहरूको घर र डेराबाट प्रहरीले करिब ३६८ किलो तामा, चोरी गर्न प्रयोग गरिएका औजार, चोरीमा प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध