काठमाडौं– यो अर्को पिरती निक्कै खतरनाक। लयमा हिँडिरहेका जीन्दगीको बाटो यस्तोसित भत्काउँछ कि, चारैतिर अन्धकार मात्र देखिन्छ।
सशस्त्र प्रहरीको प्रमुखको लाइनमा रहेका रञ्जन कोइराला कसरी जेलमा पुगे? किन यस्तो कर्म गर्नका लागि उनी बाध्य भए? यस विषयको चर्चा हुनेछ।
यद्यपि उनले शक्तिको प्रयोग गरी हत्याबाट मुक्ति पाइसकेका थिए। तर सार्वजनिक रुपमा बलियो दबाब परेपछि कोइरालालाई फेरि जेलमा पठाइयो।
उनै सशस्त्र प्रहरी बलका पूर्वनायव महानिरिक्षक (डीआईजी) कोइरालाले गरेको हत्या प्रकरण, उन्मुक्तिको प्रयास, अदालतले फेरि जेल हालेको विषय र पत्नी गीता ढकालसँगका सम्बन्धका उतारचढाव चर्चामा थियो।
पछिल्लो पटक सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालालाई छुटाउन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले सजाय घटाएको फैसला उल्टाउँदै जन्मकैद नै हुने ठहर गरेको थियो।
तत्कालिन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले सर्वोच्चमा राणाको इजलासमा भएको फैसला उल्टाउँदै जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गरेपछि कोइरालाको केही दिनको ‘सेलिब्रिटी’ अन्दाज फेरि कालो कोठरीमा पुग्यो।
जिल्लाको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत पाटनमा कोइरालाले निवेदन दिएका थिए। त्यसपछि पाटन अदालतका मुख्य न्यायाधीश आनन्दमोहन भट्टराई र न्यायाधीश लेखनाथ घिमिरेको इजलासले जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैद ठहराएको थियो।
जिल्ला अदालतको फैसलाविरुद्ध कोइरालाले सर्वोच्चमा पुनरावेदन निवेदन निवेदन दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा कोइरालालाई जन्मकैद चर्को पर्ने ठहरसहित सजाय घटाएर ८ वर्ष ६ महिना मात्रै तोकेको थियो।
पत्नी हत्या गरेका पूर्वडिआइजी कोइराला सर्वोच्चको निर्णयपछि जेलमुक्त भएका थिए। हत्यारा ठहरिएका कोइराला डिल्लीबजार सदर जेलमा ८ वर्ष ६ महिना कैद सजायपछि रिहा भएका थिए।
उनी जेलमुक्त भएपछि महान्यायाधीवक्ता कार्यालयले फैसला गलत भएकाले पुनरावलोकन गर्नुपर्ने माग गर्दै २०७७ साउन ४ मा निवेदन दिएको थियो।
कर्तव्य ज्यान सरकारवादी मुद्दा भएकाले सर्वोच्च अदालतको निर्णय गलत भएको भन्दै सरकारले पुनरवलोकन निवदेन सर्वोच्चमा दर्ता भयो।
पाटन अदालतले ‘योजना बनाएर गीताको हत्या गरिएको ठहरसहित जिल्ला अदालतको फैसला सदर गरेको थियो। तत्कालीन पुनरावेदन अदालत पाटनले सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले पत्नी गीता ढकाललाई ‘योजनापूर्वक हत्या’ गरेको फैसला गरेको थियो।
गीता ढकाल (कोइराला) र रञ्जनबीच २०५० सालमा विवाह भएको थियो। उनीहरूका दुई छोरासमेत छन्। २०६८ पुस २७ मा कोइरालाले उनकी पत्नी गीता ढकालको हत्या गरेका थिए।
सर्वोच्च अदालतले आवेशप्रेरित (तत्कालै रिस उठेर मारिएको) भनेर सजाय घटाएपछि मुद्दा विवादित बनेको थियो। सर्वोच्चमा पुनरवलोकनको अनुमति पाएपछि मुद्दा फेरि ब्यूँझिएको थियो।
राणासम्मिलित अदालतको आदेश के थियो?
‘मिसिल संलग्न प्रमाण कागजबाट मृतक र प्रतिवादीबाट दुई छोराको जन्मपछि दाम्पत्य जीवन सुमधुर हुन नसकी लामो समयदेखि अलग–अलग घरमा बस्दै आएका थिए। २०६८ पुस २७ मा गीता बस्ने घरमा रन्जन जाँदा गीताले व्यापारको लागि पैसा मागेको कारणबाट उठेको विवादमा रिस उठी आवेगमा आई धकेल्दा टाउको भित्तामा ठोकिएर मृत्यु भएको,’ सर्वोच्चको सजाय घटाउने फैसलामा भनिएको थियो, ‘वारदात हुँदाको पृष्ठभूमि हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्म देखिनु।’
मृत्युपछि नाबालक छोराहरूको हेरचाह, संरक्षण, शिक्षा दीक्षालगायत अभिभावकविहीन हुने भन्दै सजाय घटाउने सर्वोच्चको ठहर थियो।
‘सजाय चर्को पर्ने भन्दै जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐनको १८८ अनुसार तथा हालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रन्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ,’ सर्वोच्चले फैसलामा भनिएको थियो। त्यही फैसला उल्टिएपछि अब कोइराला थप जेल बस्नुपर्ने भएको हो।
मारेको सबै प्रमाण भेटिएपछि अदालतले दोषी ठहर गरेका रञ्जनले अदालतसामु आफूले ‘हत्या नगरेको’ इन्कारी बयान दिएका थिए।
गीताले हत्या हुनु अघि नै आफ्नो ज्यान जोखिममा परेको माइतीमा जानकारी गराएकी थिइन्। २०६७ माघ ९ मा कुटपीटको घाउ जाँच गराइएको थियो। प्रधानमन्त्री कार्यालय, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, सशस्त्र प्रहरी वल प्रधान कार्यालयमा मसेत उजुरी दिएकी थिइन्। रञ्जनले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा र माना चामल मुद्दा दर्तासमेत गरेका थिए। उजुरी बेवास्ता गरिँदा उनको ज्यान गएको थियो।
यस्तो थियो पाटन अदालतको ठहर
पति र पत्नीबीच लामो वैमनस्यता रहेको तत्कालीन पुनरावेदन पाटन अदालतको २०७२ मंसिरमा २३ मा ठहर गरेको थियो। घटनापूर्व पनि श्रीमानले आफूलाई कुट्ने तथा यातना दिने गरेको व्यहोरा उल्लेख गर्दै गीताले विभिन्न निकायमा उजुरी दिएकी थिइन्। उजुरीको राज्यकै जिम्मेवार निकायले वेवास्ता गरिँदा गीताको हत्या भएको देखिन्छ।
गीतालाई २०६७ पुस ७ मा रञ्जनले कुटपिट गरेका थिए। कुटिएको ११ दिन पछि २०६७ पुस १८ मा उनले उजुरी दिएकी थिइन्। उजुरीमा ‘कुटपिट गरी तँलाई बेपत्ता पारिदिन्छु। म को हुँ चिनेको छस्, तँलाई मारेर फाले पनि मलाई कानुन लाग्दैन भनी कुटपिटसमेत गरेको’ भनी उल्लेख गरेको पाइएको छ।
‘लोग्ने–स्वास्नीबीच धकेलाधकेल हुँदा चोट लागेर मरेको कोइरालाले अदालतमा जिकिर कोइरालाले लिएको पाइँदैन,’ फैसलामा भनिएको थियो।
त्यसैबेला कोइराला चीनबाट फर्कंदा अध्यागमनबाट भित्रिँदा राहदानीमा छाप नलगाइ आएका थिए।
‘कोइरालाले घटनाको दिन बिहानै १३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। लास जलाउन गाडीमा राखेको पाइएको छ। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरूको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालत पाटनको फैसलामा उल्लेख छ।
घटना हुने दिन बिहान सानो छोरा लिन आउँदा ‘रञ्जनले मलाई घुरी हेरेको’ भनी गीताले सोही दिन आमालाई फोन गरेको हरिप्रियाको वकपत्र छ।
गीता हराएको १० दिनपछि (२०६८ माघ ७ मा) लास जलाएको ठाउँमा पुगेको उल्लेख छ। ‘मौजुद प्रमाणहरूको आधार हेर्दा गीताको मृत्युलाई तत्काल हात हालाहालको बीचमा घटेको सांयोगिक घटना भनी मान्न नमिली योजनापूर्वक गरिएको हत्या रहेछ भन्ने कुरा पुष्टि हुन आएको छ,’ फैसलामा भनिएको छ, ‘कानुन कार्यान्वयन गर्ने निकायको उच्च अधिकारीबाट यस्ता वारदात घटेको र प्रतिवादीले घटनाको यथार्थ कुरा अदालतमा नगरी निर्दोषिताको जिकिर गरेको हुँदा आवेशप्रेरित घटना हुने मान्न मिल्दैन।’
‘हत्या गरी काठमाडौं बूढानीलकण्ठदेखि मकवानपुर टिस्टुङ नजिक मेत्राङमा लगी जलाउन रञ्जन कोइरालाको प्रत्यक्ष संलग्नता देखिँदा सुरु फैसलालाई अन्यथा मान्नुपर्ने देखिएन,’ फैसलामा छ। गीतालाई जलाइएपछिको अस्थिपन्जर हेटौंडा अस्पतालमा लगिएको र त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। मकवानपुरको मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै रहेको हेटौंडा अस्पतालको रिपोर्ट र फरेन्सिक मेडेसिन विभाग महाराजगन्जको प्रतिवेदनमा मकवानपुर मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै हुन भन्ने द्विविधा गर्ने ठाउँ नदेखिएको अदालतको ठहर छ।
‘नेपालमा परीक्षण विधि भित्रिएको प्रारम्भका केही वर्षमा यसको प्रमाणिकता एवं आधिकारिकताबारे न्यायिक क्षेत्रमा केही अन्योल रहेको पाइए पनि सर्वोच्च अदालतका फैसलाले यसलाई स्वीकार गर्न थालेका छन्’ अदालतले भनेको छ। रञ्जनले आफू पक्राउ पर्नुपूर्व मिति २०६८ माघ ५ मा मानिस खोजी पाउँ भनी प्रहरीमा निवेदनसमेत दिएका थिए।
मुद्दाका अर्का प्रतिवादी तारा रेग्मीको हकमा भने जिल्ला र पुनरावेदन अदालतले गरेको फैसला मिलेको सर्वोच्चको ठहर गरेको थियो। उनलाई एक वर्ष कैद सजाय गर्ने जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैलाई पुनरावेदनले सदर गरेको थियो। रेग्मी भने एक वर्ष कैद सजाय भुक्तान गरिसकेकी छिन्।
तारा रेग्मी रञ्जनको अर्को पिरती भएको बताइयो। कोइराला जेलमुक्त भएका बेला डिल्लीबजारमा लिन पुग्ने पनि उनै रेग्मी रहेकी थिइन्।
कोइराला–गीता सम्बन्धका उतारचढाव
२०५० सालमा बिहे गरेका रञ्जन र गीताबाट दुई छोराको जन्म भएपछि उनीहरुको सम्बन्ध बिग्रन थालेको थियो। रञ्जनले चितवनकी तारा रेग्मीसँग सम्बन्ध बढाएपछि उनको पारिवारिक सम्बन्ध बिग्रंदै गएको थियो। रञ्जनले गीतामाथि सम्बन्धविच्छेदका लागि दबाब दिंदै अंशचलान मुद्दा हालेका थिए भने गीताले रन्जनमाथि मानाचामल मुद्दा हालेकी थिइन्।
उनीहरु एक अर्काबाट छुट्टिएर बस्न थालेका थिए। गीता बूढानीलकण्ठ–५ मा बस्थिन् भने रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि २०६८ भदौमा चीन गएका थिए।
चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए। २७ पुसमा गीताको घर पुगी कान्छो छोरा लिएर हिंडेका थिए। गीताले आफ्ना बाबु हरेराम ढकाललाई त्यसबारे जानकारी दिएकी थिइन्।
त्यसपछि माइतीले बारम्बार प्रयास गर्दा पनि गीतासँग सम्पर्क हुन सकेन। खोजी गर्दा पनि नभेटिएपछि गीताका बाबु हरेरामले ‘रञ्जनले छोरीको दाइजो र पेवा हत्याउनका लागि सम्बन्ध विच्छेदको दबाब दिँदै आएको, बारम्बार मानसिक र शारीरिक यातना दिएको भन्दै उनलाई बन्धक बनाएर राखेको हुनसक्ने’ आशंकासहित ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
त्यसको दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाएका हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जन विरुद्ध अर्को जाहेरी दिए।
अनुसन्धान हुँदै जाँदा रञ्जनले २७ पुसमै गीताको हत्या गरेको र मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो।
२८ पुसमा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंग भेटिए। डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो। ८ माघमा नागढुंगामा आफैंले चलाएको बा८च ५४०८ नम्बरको गाडीसहित रञ्जन पक्राउ परे। यसमा अनौठो के छ भने उनले पत्नीको हत्या गरेर शव व्यवस्थापन गरेपछि फेरि हेर्न पुगेका बेला पक्राउ गर्न प्रहरी सफल भयो र घटना पुष्टि गर्न पनि सहज भएको त्यसबेलाका अनुसन्धान अधिकारी बताउँछन्।
त्यस विरुद्ध तीनै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरे। पीडितका तर्फबाट नेपाल सरकारले ताराले ज्यान मार्ने काममा षडयन्त्र गरेको भन्दै १० देखि १५ वर्षसम्मको कैद सजाय मागसहित पुनरावेदन गर्यो भने रन्जन र तारा दुवैले आफूहरु निर्दोष रहेको दाबी गर्दै कुनै सजाय नहुनुपर्ने जिकिर गरे।
तर, २३ मंसीर २०७२ मा उच्च अदालतले तीनै पक्षको पुनरावेदनमा दावी नपुग्ने ठहर गरेको थियो। जिल्ला अदालतको फैसलालाई नै सदर गरिदियो।
यो हत्या प्रकरणलाई खासगरी तीन पाटोमा राखेर हेर्न सकिन्छ। कोइराला र गीताको सम्बन्धमा तेस्रो महिला रेग्मीको प्रवेश पनि हत्याको एउटा कारण हो। अर्कोचाहिँ पद र पैसाको प्रयोगमा कुनै न कुनै विवादीत न्यायाधीश बिक्न सक्छन् भन्ने हो भने न्यायालयले आफूले गरेको फैसला सच्याउने ल्याकत राख्छ भन्ने पनि पाठ हो।
कोइराला सशस्त्र प्रहरी बलका त्यस्ता डीआईजी थिए कि यो हत्याकाण्ड नमच्चाएको भए उनी अहिले सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) भएर पनि रिटायर्ड भैसकेका हुने थिए। तर, जब दशाले कुतकुत्याउँछ नि अनि मानिसको मति भ्रष्ट हुन्छ र उसको बाटो आपराधिक चिन्तनमा पुग्दा सबै सत्यानाश हुन्छ भन्ने यो गतिलो उदाहरण हो।
(यो रिपोर्ट विभिन्न मितिमा अदालतका फैसला, इन्टरनेटमा उपलब्ध रिपोर्ट र जानकारीका आधारमा तयार पारिएको हो। सम्पादक)