नेभिगेशन
राजनीति

चीनले विद्यालाई 'सघाए' पछि ओलीलाई 'बोलायो' भारतले

अन्तत: सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका भए पनि भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ  ।

कांग्रेसको साथले प्रधानमन्त्री बनेका ओलीका लागि भारत भ्रमण सहज भने बनेन । प्रधानमन्त्री बनेलगत्तैबाट प्रधानमन्त्री ओलीले भारत भ्रमणका लागि निकै कोशिस गरिरहेका थिए । यसैका लागि परराष्ट्रमन्त्री आरजु देउवाले भारत भ्रमणसमेत गरिन् । देउवाको पहिलो भारत भ्रमणलाई भारतले प्रधानमन्त्रीकै सरहको महत्व दिएर नयाँ बनेको गठबन्धनप्रति सकारात्मक बनेको संकेत दियो । तर पनि प्रधानमन्त्री ओलीलाई भने निम्तो दिएन ।

आफ्नै क्याबिनेटको एक मन्त्रीलाई भारतले सत्कार दिए पनि आफुलाई भने निमन्त्रणा नदिएकाले ओलीले आरजुलाई दबाब बढाए । आरजु देउवा ओलीकै दबाबमा भारत पुन: गइन् तर दोस्रो पटक भारत पुगेकी आरजुलाई भारतले वेवास्ता गरिदियो । कुनै राजनीतिक भेटघाटसमेत हुन सकेन । निराश आरजुले फेस सेभिङका लागि स्वास्थ्यका लागि जानु परेको भन्दै आफ्नो बचाउ गरिन् ।

जब विद्या भण्डारी चिन पुगिन्, ओली र भारत संशकित

नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किनेतर्फ लागिन् । सोही प्रक्रियामा उनी  १० दिनको चीन भ्रमणमा समेत गइन् । विद्या भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिकारूपमा नभएर एमालेको नेताकारूपमा भएको थियो । चीन भ्रमणका क्रममा चिनियाँ पक्षले भण्डारीलाई दिएको उच्च सम्मानले एमालेको एउटा समूह उत्साहित बन्यो भने ओलीपक्ष सशंकित ।

चीनको सकारात्मक संकेत तथा नेपालमा पुन: वामएकता भण्डारीको नेतृत्वमा हुन सक्ने प्रचण्ड लगायतको खासखुसले ओलीपक्षमात्र होइन, नेपाली राजनीतिमा चीन हाबी हुने आशंकामा भारत पनि रहन पुग्यो । 

जब पार्टीमा ओलीको एकाधिकार तोडियो

यद्यपि विद्या भण्डारीलाई ओली मातहतमा नै चलिरहेकी छिन् भन्नेमा र ओलीले रोक्छन् भन्नेमा भारतीय पक्ष केहि हदसम्म ढुक्क थियो । तर हालै निरन्तर बसेका एमालेका बैठकहरूमा प्रस्ट देखियो कि पार्टीमा केपी ओलीको एकाधिकार तोडिएको छ । ओलीको संकेतका विरूद्ध पनि बोल्न नसक्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरू हाँकाहाँकी ओलीको विकल्पका बारेमा बोल्न थालिसकेका छन् ।

नेपाली कांग्रेसमा शेखर कोइरालासमूहले पनि सत्ता संकट बढाइरहेको छ । त्यसका अतिरिक्त ओली नेतृत्वको कांग्रेस एमालेको सरकार सुशासन स्खलित भएकोमा बदनाम हुँदै रक्षात्मक बनेको छ ।

यसबाट नेपालको राजनीतिमा कांग्रेस एमालेको सरकारको विकल्पमा अर्को सरकार बन्न सक्ने र यो चीनको संरक्षणमा रहने भारत पक्षको बुझाइ छ । त्यस्तो भयो भने नेपालको राजनीतिमा पुन: चीन हाबी हुने निष्कर्षमा भारत पुग्यो । 

भारतपक्षलाई बलियो बनाउन भारतको निम्तो

अब प्रधानमन्त्री ओलीसँगको दुरीले नेपालमा भारतको प्रभाव कम बनाउने भएकाले भारतले ओलीलाई विश्वासमा लिनु निर्विकल्प बनेको छ । ओली नेतृत्वको सरकार रहिरहोस् भन्ने ध्येयलाई बलियो बनाउन ओलीलाई भारतले काँध हालेको छ । यहि अनुरूप भारतले ओलीलाई निमन्त्रणा पठाएको हो ।

विकसित घटनाक्रम हेर्दा विद्या भण्डारीको सक्रियताले ओलीको भारत भ्रमणमा जाने सपना भने पुरा हुन लाग्दैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति