नेभिगेशन
राजनीति

ओलीको चेतावनी- विद्या भण्डारीको पक्षमा बोल्दै नहिँड्नु, नत्र कारबाही हुन्छ

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लिएर कठोर बन्दै गएका छन् ।

सोमबारदेखि ललितपुरको च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको पक्षमा लाग्नेलाई कडा कारबाहीको चेतावनीसमेत दिएका छन् ।

उनले बैठकलाई सम्बोधनका क्रममा विद्या भण्डारीको पक्षमा लाग्नेहरूविरुद्ध आफू कठोर बन्न तयार रहेको चेतावनीसमेत दिएको एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

उनले केही नेताहरूतिर इंगित गर्दै पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बन्दै हिँडेकोसमेत टिप्पणी गरेका छन् । उनले त्यसरी पूर्वराष्ट्रपतिको प्रवक्ता बन्नेहरूलाई कडा कारबाहीको चेतावनीसमेत दिएको ती केन्द्रीय सदस्यले बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीसँग आफूले आइतबार च्यासलमा करिब २ घण्टा लामो संवाद गरेको बताउँदै ओलीले त्यसबेला केही सुझाव पनि दिइसकेको उल्लेख गरे । आफूले दिएका सुझावबारेमा पूर्वराष्ट्रपतिले जवाफ दिइनसकेको पनि ओलीले बैठकमा बताएका छन् ।

आफूले दिएका सुझावबारे पूर्वराष्ट्रपतिले सोचेर उचित समयमा जवाफ दिने बताएको पनि ओलीले बैठकमा जानकारी दिएका छन् ।

पूर्वराष्ट्रपतिको भेटबारे कुरा गर्दै उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाए पनि पनि पार्टी कार्यालयमै आउँछु भनेपछि च्यासलमै भेटेको बताए ।

‘पूर्वराष्ट्रपति (विद्या भण्डारी) जीसँग हिजो मैले भेटेको छु । बालुवाटारमा बोलाएको थिएँ, पार्टी कार्यालयमै आउँछु भनेपछि त्यो ठूलो कुरा नभएकाले च्यासलमै बोलाएँ’, उनले भने, ‘पार्टी कार्यालय नदेखेको भनेपछि च्यासलमै भेटेको हुँ । उहाँ आफैंले भेटौँ भनेपछि संवाद गरेको छु ।’

उनले भण्डारीसँगको भेटपछि प्रतिक्रिया दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्णबहादुर थापातिर लक्षित गर्दै केही नेता प्रवक्ता बनेको भन्दै रोष प्रकट गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति