नेभिगेशन
सुरक्षा–अपराध

ग्याङमा सामेल भएर रडलगायत हानेर ललितपुरमा मान्छे मारेका थिए, २१ बर्षपछि समातिए

काठमाडौं– ७ जनाको समूहमा सामेल भएर ललितपुरस्थित एक रेस्टुरेन्टमा रड, धारिलो हतियार प्रहार गरी मानिस हत्यामा संलग्नलाई २१ बर्षपछि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले तेह्रथुम स्थायी घर भई हाल काठमाडौँमा लुकिछिपी बसिरहेका ४९ वर्षीय विजयकुमार फोम्बो (लिम्बु) लाई पक्राउ गरेको हो।

उनी तेह्रथुमको साबिक खाम्लालुङ गाविस–३ (हाल आठराई गाउँपालिका वडा नम्बर २) का स्थायी बासिन्दा हुन् भने काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशालामा बस्दै आएका थिए। 

ललितपुर महानगरपालिका–१४ स्थित टाइटानिक रेस्टुरेन्टमा २०६० साल कात्तिक ९ गते राति करिब ७ः ३० बजे देउसी भैलो खेलिरहेका बेला खुमलटारका २४ वर्षीय नोरबहादुर राउतलाई मदनबहादुर लिम्बु समेत ७ जनाको समूहले तरबार, रड लगायतका घातक हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए। 

उपचारका लागि वीर अस्पताल, काठमाडौँ लगिएका राउतको २०६० साल कात्तिक १० गते मृत्यु भएको थियो।

घटनापश्चात् फरार रहेका प्रतिवादीमध्ये विजयकुमार फोम्बो (लिम्बु) कोटेश्वरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनलाई फेला पारी पक्राउ गरेको हो।

उनलाई अदालतमा पेस गरी थप अनुसन्धानसहित कानुनी प्रक्रियामा सामेल गराइने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध