नेभिगेशन
सुरक्षा–अपराध

सेनाले जर्नेणलबाट बर्खास्त गरेपछि सर्वोच्चमा रिट दिएका थिए, अहिले फिर्ता लिए

काठमाडौं– नेपाली सेनाका उपरथी प्रेम शाहीले जंगी अड्डाविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएका छन्। उनले गैरकानुनी हिसाबले आफूलाई बर्खास्त गरेको भनी रिट दायर गरेका थिए। 

उनले यसअघि दायर गरेका रिट निवेदन फिर्ता गर्न मंगलबार अर्को निवेदन दिएका थिए।

उनको मागबमोजिम बुधबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले निवेदन फिर्ता हुने आदेश गरेको छ।

शाही २०७७ पुस ८ गते र २०७९ पुस ६ गते सर्वोच्च अदालत पुगेका थिए। सुरुमा आफ्नो जन्म मिति २०२३ नै कायम गर्न माग गर्दै उनी सर्वोच्च पुगेका थिए। 

रक्षा मन्त्रालयले उनको जन्म मिति २०२२ नै कायम हुने निर्णय भएपछि अदालत पुगेका उनी दोस्रो पटक भने अवकासको पत्र बदरको माग गर्दै सर्वोच्च गएका थिए। 

अवकासको पत्र बुझिसकेका शाहीका यी दुवै निवेदनको अन्तिम टुंगो लागिसकेको थिएन।

उनको शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०२२ पुस २० गते उल्लेख थियो भने नागरिकतामा २०२३ पुस २२ गते उल्लेख थियो। 

दुईथरी जन्ममिति फेला परेपछि सेनाले उनलाई अघिल्लो जन्म मितिलाई आधार मान्दै २०७९ पुस ४ गते अवकासको पत्र थमाएको थियो। 

सर्वोच्चबाट अवकासको पत्र कार्यन्वयन नगर्नु भन्ने अन्तरिम आदेश लिएर जंगी अड्डा पुगेका शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको थियो। 

उनलाई आर्थिक अनियमितताको आरोपमा हिरासतमा राखेर सैनिक विशेष अदालतले छानबिन अगाडि बढाएको थियो। सोही मुद्दामा दोषी ठहर गर्दै २०७९ फागुन १८ गते बर्खास्त गर्ने फैसला सुनाएको थियो।

नेपाली सेनामा हुने यो दुर्लभ प्रकृतिको घटना पनि हो। आदेश भैसकेको रिट फिर्ता त्यति साह्रो भएको अवस्था छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध