नेभिगेशन
सुरक्षा–अपराध

अदालतले माननीय चिप्ल्यायो, मनाङ ‘ख’मा कहिले हुन्छ उपनिर्वाचन?

काठमाडौं– मनाङ ‘ख’मा कहिले हुन्छ उपनिर्वाचन? यहि प्रश्नको उत्तर अहिले निर्वाचन आयोगसँग पनि छैन। जबकि, रुपन्देही–३ मा आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तय भैसकेको छ, प्रतिनिधि सभाका लागि।

मनाङ खमा निर्विरोध निर्वाचित भएका दीपक मनाङे उपनामले चिनिएका डन राजीव गुरुङ कारागार चलान भएसँगै उक्त प्रदेश सभा खारेज भएको थियो।

यही असार ४ गते गण्डकी प्रदेशका सदस्य रहेका मनाङे पदमुक्त थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो। 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद असार ४ गतेको दिनदेखि बदर भएको निर्णय गरेको हो। 

उनी २०७९ को प्रदेशसभा चुनावताका अयोग्य रहेको तर अहिले उनले योग्यता गुमाएको इजलासको ठहर थियो। उनी अहिले डिल्लीबजार कारागारमा छन्।

उनको ५ वर्षको कैद भएको मानेर असार ४ गतेदेखि नै लागू हुने गरी सांसद पद बदर भएको थियो।  

अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस १३ गते मनाङेको योग्यतामा प्रश्न उठाउँदै प्रदेश सभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी सर्वोच्चमा रिट दायर गरेका थिए। 

मनाङे हाल ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चबाटै दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।

गुण्डा नाइकेका रूपमा परिचित मनाङेले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको अभियोग थियो। आक्रमणमा मनाङेको समूहले चक्रेको हात नै छिनाएको थियो।

२०८१ कात्तिक २० गते सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनलाई ५ वर्ष कैदमा राख्नुपर्ने उच्च अदालत पाटनको फैसला सदर गरिदिएको थियो। 

यसअघि उनी उच्चकै फैसला कार्यन्वयनका लागि २०७५ वैशाख ६ गते पक्राउ परेका थिए। तर, ८ महिनामै कैदमुक्त भएपछि दुईपटक गण्डकी प्रदेश सांसदमा निर्वाचित भएका मनाङे ६ पटक मन्त्रीसमेत बनेका थिए। 

२०७५ वैशाख ६ गते पक्राउ पर्नुपहिले नै उनी सांसदमा निर्वाचित भइसकेका थिए। 

निवेदन दर्ता मात्रै भएन, १० वर्षभन्दा कम सजाय तोकिएको अवस्थामा थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने सुविधा सर्वोच्चले दिएपछि उनी कैदमुक्त भएका थिए। 

पहिलोपटक सांसद हुँदा तीनपटक मन्त्री बनेका उनी दोस्रोपटक २०७९ को निर्वाचनमा भने निर्विरोध निर्वाचित भए।

इन्काउन्टरबाट जोगिएका थिए
न्यायीक इन्काउन्टरले राजनीतिबाट अलग भएका उनलाई निक्कै अघि प्रहरीले गोली ठोक्न खोजेको थियो। 

ठमेल क्षेत्रमा अड्डा जमाउने गरेका मनाङेलाई इन्काउन्टर गर्नका लागि त्यसबेला डीएसपीको टोली खटाइएको थियो। तर, पेस्तोल नक नभएका कारण उनी जोगिएको बताइन्छ। 

उनी बाल बाल बाँचेका थिए। 

यो पनि पढ्नुहोस्

इन्काउन्टर हुनबाट जोगिएका भाग्यमानी दीपक मनाङे गण्डकीका सदाबहार मन्त्री (भिडिओ पनि)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध