नेभिगेशन
सुरक्षा–अपराध

धरानमा श्रमदानका क्रममा बालिकामाथि यौनहिंसा गर्ने एक जना पक्राउ, आरोपीले खोल्सातिर लगेछन्

काठमाडौं– धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदानका क्रममा एक जना १२ बर्षिया बालिकामाथि यौनहिंसा गरेको आरोपमा खगेन्द्र राईलाई पक्राउ गरिएको छ। 

इलाका प्रहरी कार्यालय धरानका अनुसार ४९ वर्षीय राईलाई प्रहरीले पक्राउ गरेको हो। 

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको श्रमदान भएका बेला बालिकामाथि यौनहिंसा भएपछि पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए। 

धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुव्र्यवहार गरेको राईमाथि आरोप छ।

बालिका आफ्नी आमासँग श्रमदानमा आएका बेला राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ। 

पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको छ। श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिटसमेत गरेकी थिइन्।

मेयर साम्पाङले दुई महिना पुरानो घटनालाई अहिले आएर बाहिर ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यो घटनालाई जोडेर श्रमदानलाई बदनाम गर्न खोजिएको उनको आरोप छ।

यो विषय बाहिर आएलगत्तै गत शुक्रबार साम्पाङले फेसबुकमा स्टाटस लेख्दै घटना प्रमाणित भए आफूले कारबाही गर्ने बताएका थिए। धरान १६ का वडाअध्यक्ष मुरारी भट्टराईले मेयरले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिएको बताए।

‘दुई महिना अगाडिको कुरा अहिले किन निस्किँदैछ? त्यतिबेला नै किन निस्किएन? दुई महिनासम्म यौन दुव्र्यवहारको कुरा लुकाएर हुन्छ? यी सबै कुराको सत्यतथ्य छानबिन होस्। कोही निर्दोष नफसोस्, दोषी नउम्कियोस्’ साम्पाङले भनेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध