नेभिगेशन
सुरक्षा–अपराध

जसपा मधेस इञ्चार्जले प्रहरीका एसपीलाई गालीगलौज गरे, यादवलाई पक्राउको तयारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का मधेस अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका उपरिक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका छन्।

सत्तारुढ अशोक राई नेतृत्वको जसपाका मधेस अध्यक्ष यादवले लुट्नका लागि आएको भनी एसपी खड्कालाई तथानाम गाली गरेको अडिओ सार्वजनिक भएको छ।

प्रहरीले यादवलाई पक्राउ गरी कारबाहीको तयारी गरेको छ।

पूर्वाधार कार्यालयको विषयलाई लिएर भएको यो संवादमा नेता यादवले एसपी खड्का र समग्र प्रहरी प्रशासनमाथि भ्रष्टाचार र सरकारी कर्मचारीलाई अवैध असुलीमा संरक्षण दिएको आरोप लगाएका छन्।

संवादमा नेता यादवले एसपी खड्कालाई सोझै प्रश्न गर्दै ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै आक्रोश पोखेका छन्। 

उनले प्रहरीले रातिराति मान्छे बोलाएर पैसाको कमिसन लिने गरेको, सुरक्षा दिनुपर्ने प्रहरी नै लुटतन्त्र मच्चाउन सक्रिय रहेको र गलत काम गर्ने सरकारी कर्मचारीलाई संरक्षण दिएको आरोप लगाएका छन्। 

जवाफमा एसपी खड्काले ‘अलि कुरा बुझेर बोल्नुहोस्’ भन्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गर्न खोज्छन् । तर, नेता यादवले भने आफ्नो अडान दोहोर्याउँदै ‘तपाईंहरू मधेशमा कमिसन खान आएको, तपाईंहरू लुट्न आएको’ भन्दै लगातार आरोप लगाएका छन्। 

नेता यादवले सर्लाहीका कर्मचारीहरू दिनमा रौतहट गएर काम गर्ने र राति सर्लाही आएर कार्यालयको बाहिरबाट ताल्चा लगाई भित्रभित्रै अवैध काम गर्ने गरेको र यसमा प्रहरीले संरक्षण तथा सुरक्षा दिइरहेको दाबी गरेका छन् ।

नेता यादवले आफू हिजैदेखि जनकपुरमा रहेको बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध