नेभिगेशन
सुरक्षा–अपराध

पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् ।

नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।

‘अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं,’ नेपालका कानुन व्यवसायीले भने, ‘त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ । अनि उहाँले बयान गर्नुहुन्छ ।’

बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानुन व्यसायीहरूले उनलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्नेछन् ।

सरकारी वकिलले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको प्रतिरक्षा गर्दै नेपाललाई थुनामा राख्नुपर्ने तर्क गर्नेछन् । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध