नेभिगेशन
राजनीति

अरे श्यामजी– निलो स्कार्फ लाएको हो, फिल्म चलाएको हैन!

अब काका उमेरका श्यामकुमार घिमिरेलाई के सिकाउनू, के भन्नू। नेपाली कांग्रेसको सचेतक जस्तो मानिसका दुई वटा भाषणले सदनमा कति चकित बनायो थाहा छैन, देख्ने र त्यसबारे अध्ययन नै गर्ने टिप्पणीकार जस्तालाई भने ‘गाईजात्रे’ पारा लाग्छ, क्या। 

शान्तिपूर्ण र प्रतीकात्मक बिरोधको शैली ‘ब्लु हार्ट क्याम्पेन’का बारेमा पढ्नुहोस्, श्यामजी। रास्वपाका सांसदले निलो स्कार्फ अथवा गलबन्दी वा रिबन जे लगाएको भए पनि त्यो बिरोधको शैली हो। 

जसको अर्थ मानव तस्करीविरुद्धको अभियानका लागि प्रयोग गरिएको थियो। अब श्यामजीले दुईटामा एउटा त भनिहाल्नु भयो– यो अमर्यादा भयो, अब यत्ति भनिदिनुहोस् न प्लिज– मानव तस्करी गर्नु जायज हो, त्यसको सांकेतिक बिरोध पनि गर्नहुन्न भनेर। 

श्यामजी, 
निलो रङ शान्ति, सुरक्षा र करुणाको प्रतीक मान्दै पीडितहरुको समर्थनमा आवाज उठाउन उपयोग हुन्छ। यसबाहेक मानिसको मनोबल, आँट र अस्तित्वका लागि लड्ने क्षमता पनि दर्शाउँछ।

युनाइटेड नेसन्स अफिस अल ड्रग एन्ड क्राइम (यूएनओडीसी)ले मानव तस्करीविरुद्धको जनचेतनाको लागि ब्लु हार्ट रिबन क्याम्पेन सुरु गरेको थियो। 
यस अभियानको प्रतीक चिन्ह निलो मुटु मानियो।

‘निलो रिबन’  एक अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने प्रतीकात्मक चिह्न हो, जुन विभिन्न सन्दर्भ, अभियान वा आन्दोलनमा फरक–फरक अर्थमा प्रयोग हुन्छ। 

यसले सामाजिक, राजनीतिक, वा स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा जनचेतना फैलाउने, समर्थन जनाउने वा विरोध प्रकट गर्ने उद्देश्य राख्दछ।

निलो रिबनको प्रयोगको इतिहास पश्चिमी मुलुकमा १८औँ शताब्दीदेखि सुरु भएको पाइन्छ। आरम्भमा यो उत्कृष्टता, सम्मान र निष्ठाको प्रतीक थियो। 
विशेषतः घोडा दौड वा कृषि मेलाजस्ता प्रतिस्पर्धाहरूमा विजेतालाई निलो रिबन दिने प्रचलन थियो।

तर पछि यो प्रतीकात्मक प्रतिरोध, समर्थन, वा सामाजिक आन्दोलनहरूमा ‘विज्ञान, विवेक, सहानुभूति, वा चेतना’को प्रतीकका रूपमा फैलियो।

मार्च महिनामा कोलन क्यान्सरको जनचेतना फैलाउने अभियानका लागि निलो रिबन लगाइन्छ।

मानसिक स्वास्थ्य, बाल यौन दुव्र्यवहारविरुद्ध सचेतना अभिवृद्धिका लागि पनि प्रयोग हुन्छ।

केही देशहरूमा निलो रिबन राजनीतिक बन्दीहरूको समर्थनमा प्रयोग भएको छ, जहाँ रिबन लगाएर नागरिकहरूले स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँछन्।

कहिलेकाहीं अदालतका मुद्दाहरूमा निष्पक्ष सुनुवाइको माग गर्दै ‘निलो रिबन अभियान’ चलाइन्छ।

संयुक्त राष्ट्रसंघ र विभिन्न संस्थाले निलो रिबनलाई बाल शोषणविरुद्धको आवाजका रूपमा लिएको पाइन्छ।

चीन, रूस, इरान, म्यानमारलगायतका मुलुकमा सरकारविरुद्ध आवाज उठाउने नागरिक, पत्रकार वा राजनीतिक बन्दीहरूलाई समर्थन गर्न निलो रिबन अभियान चलाइएको छ।

१९९५ मा अमेरिकामा निलो रिबन प्रयोग गरेर इन्टरनेट स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एउटा ठूलो अभियान चलाइएको थियो।

नेपालमा निलो रिबनको प्रयोग यति व्यापक छैन, तर पश्चिमी शैलीको प्रभाव स्वरूप केही स्वास्थ्य कार्यक्रमहरू, बाल अधिकार, महिला हिंसा, वा सामाजिक न्यायका कार्यक्रमहरूमा प्रयोग भएको देखिन्छ।

निलो रिबन कुनै एउटा निश्चित विषयको प्रतीक नभई, सन्दर्भअनुसार बहु–प्रयोगी प्रतीकात्मक औजार हो। यो सहानुभूति, न्याय, चेतना र ऐक्यबद्धता को सरल, मौन तर प्रभावशाली संकेत हो। स्वास्थ्यदेखि राजनीति, मानव अधिकारदेखि न्यायसम्मत समाज निर्माणसम्म यसले महत्वपूर्ण भूमिका खेलेको छ।

२०१८ मा, अष्ट्रेलियाली कलाकारहरू र अन्य कला पेशेवरहरूले बालबालिका र उनीहरूका परिवारहरूलाई अपतटीय हिरासतबाट हटाउन खोजिएको विधेयकको समर्थन देखाउन नीलो रिबन लगाएका थिए।

गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)ले हामी रिपोर्टिङमा पुग्दा भन्नुहुन्थ्यो क्या– फ्रिडम अफ प्रेस, फ्रिडम अफ वाक, फ्रिडम अफ पिपुलका विषयमा कसैसँग सम्झौता गर्दिन। नेपाली कांग्रेसले गर्दैन। म त यसका लागि जुत्ता खाएको मानिस, कालो झन्डा पनि देखाउन पाइन्छ।

गिरिजाबाबुमाथि कालो झन्डा देखाउँदा यस्तो उत्तर आएको थियो। त्यहि पार्टीको हालको प्रमुख सचेतक भएर बिरोधका सांकेतिक आकार र आयामसँग पनि डराउन मिल्छ? 

अझ तपाईले त जहाँबाट बिरोधको शैली अमर्यादित भएको भन्नुभयो, त्यहिँबाट ‘यौन व्यावसाय खुला गर्नुपर्छ’ भन्नुभएको थियो त। कम्तिमा बिरोधका नयाँ मापकहरु आउँदैछन्, स्वागत गर्नुहोस् न। अरे श्यामजी– निलो स्कार्फ मात्रै लगाएको हो, फिल्म चलाएको हैन क्या, कुरा बुझौं। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति