नेभिगेशन
राजनीति

बन्दुकसहित छिरेको, कुर्सी भाँचेको सदनभित्र रास्वपाले छिरायो बिरोधको नयाँ आयाम ‘ब्लु हार्ट क्याम्पेन’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ब्रान्ड कलर निलो हो। उसको झन्डादेखि अभियान सबै निलोले ब्रान्डिङ गरिएको छ।

मंगलबार प्रतिनिधि सभामा भने उनीहरुले थप निलो रिबन र गलबन्दी जस्तो लगाए। यो बिरोधको एक तरिका थियो अथवा सांकेतिक बिरोध थियो। 
खासमा रास्वपाका सांसदले के को बिरोधी बिम्ब देखाउनका लागि यो रिबन या गलबन्दी लगाएका थिए त?

अहिले उनीहरू भिजिट भिसामा मानव बेचबिखनविरुच छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानमा छन्। तैपनि पेलेरै संसद चलिरहेका बेला गरिएको सांकेतिक बिरोधमा निलो रिबन नै किन प्रयोग गरियो? 

के तत्कालिन बिरोधको मुद्दा यसले बोक्छ? 

बोक्ने रहेछ। यसैकारण प्रतिनिधि सभामा ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोषिमा कार्कीले यो अवधारणामा बिरोधको नयाँ आयाम सदनमा छिराएकी छन्।

उनकै धारणाअनुसार नै रास्वपाका सबै सांसदले निलो रङको रिबन र गलबन्दी लगाएर सदन छिरे जहाँ कांग्रेसलाई सही नसक्नु भयो। अनि, प्रमुख सचेतक श्याम घिमिरेले उठाए,‘संसदीय मर्यादाको विषय।’

यो त्यो सदन हो जहाँ पहिलो संविधान सभामा माओवादीका कालीबहादुर खाम बन्दुकसहित छिरेका थिए भने माओवादीका उमेश यादवले कुर्सी तोडफोड गरेका थिए। 

राजावादी गोरेबहादुर खपाङ्गीले हालका राष्ट्रपति रामचन्द्र पौडेल सभामुख हुँदा जुत्ताले हानेका पनि थिए। 

त्यहाँ शान्तिपूर्ण र प्रतीकात्मक बिरोधको शैली ‘ब्लु हार्ट क्याम्पेन’ रास्वपाले छिराएको हो। जसको अर्थ मानव तस्करीविरुद्धको अभियानका लागि प्रयोग गरिएको थियो।

निलो रङ शान्ति, सुरक्षा र करुणाको प्रतीक मान्दै पीडितहरुको समर्थनमा आवाज उठाउन उपयोग हुन्छ। यसबाहेक मानिसको मनोबल, आँट र अस्तित्वका लागि लड्ने क्षमता पनि दर्शाउँछ।

युनाइटेड नेसन्स अफिस अल ड्रग एन्ड क्राइम (यूएनओडीसी)ले मानव तस्करीविरुद्धको जनचेतनाको लागि ब्लु हार्ट रिबन क्याम्पेन सुरु गरेको थियो। यस अभियानको प्रतीक चिन्ह निलो मुटु मानियो।

अन्तर्राष्ट्रिय रुपमा भने हरेक बर्षको ३० जुलाईमा एक दिन विश्वव्यापी रुपमा ब्लु हार्ट क्याम्पेन गरिन्छ। 

‘निलो रिबन’  एक अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने प्रतीकात्मक चिह्न हो, जुन विभिन्न सन्दर्भ, अभियान वा आन्दोलनमा फरक–फरक अर्थमा प्रयोग हुन्छ। 
यसले सामाजिक, राजनीतिक, वा स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा जनचेतना फैलाउने, समर्थन जनाउने वा विरोध प्रकट गर्ने उद्देश्य राख्दछ।

निलो रिबनको प्रयोगको इतिहास पश्चिमी मुलुकमा १८औँ शताब्दीदेखि सुरु भएको पाइन्छ। आरम्भमा यो उत्कृष्टता, सम्मान र निष्ठाको प्रतीक थियो। 

 

यसअघि प्रकाशित भएको निलो रंगसम्बन्धी समाचारको सन्देशमा भूलबस अन्यथा भएकोमा सच्याएर यो समाचार प्रकाशित गरिएको छ– सम्पादक।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति