नेभिगेशन
राजनीति

दिलभूषण पाठकका नाममा उपस्थित हुन भन्दै साइबर ब्यूरोले जारी गर्‍यो सूचना

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ ।

पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै उपस्थित हुन सूचनामा भनिएको छ ।

जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । त्यसक्रममा अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले भनेको थियो ।

मंगलबार ब्यूरोको वेवसाइटमा सूचना जारी गर्दै उनलाई ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।

प्रहरीले यसअघि पक्राउ अनुमति जारी भएका कोही पनि व्यक्तिलाई उपस्थित भइदिन भन्दै सार्वजनिक सूचना जारी गर्ने गरेको थिएन ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

समाचारको विषयलाई लिएर विद्युतीय अपराधको कसुरमा पक्राउ अनुमति लिएपछि यसको व्यापक विरोध भएको थियो । शनिबार विभिन्न सञ्चारमाध्यमका ३५ सम्पादकहरुले सामूहिक विज्ञप्ति निकालेर ‘कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजिएको’ बताएको थिए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति