नेभिगेशन
सुरक्षा–अपराध

सह–सचिवलाई ‘मन परेन’ अनि डीएसपी शुभद्रा बाइवाको इञ्चार्ज खोसेर गरियो सरुवा

काठमाडौं– सुरक्षाका लागि जिम्मेवारी दिएर पठाएपछि सुविधा दिनुको साटो मन नपरेपछि नेपाल प्रहरीका अब्बल अधिकारीलाई निजामति कर्मचारीका प्रथम श्रेणीका अधिकृतले पनि मनपरी सरुवा गर्न सक्दा रहेछन् भन्ने उदाहरण बनेकी छन् नायव उपरिक्षक (डीएसपी) शुभद्रा बाइवा।

इलाका प्रहरी कार्यालय सिमराकी इञ्चार्ज बाइवाको ठाउँमा अर्का डीएसपी बेद जोशीलाई प्रहरी प्रधान कार्यालयले खटाएको छ। कारणचाहिँ ‘सोधपुछ’का लागि प्रधान कार्यालयमा बोलाइएको भनिन्छ।

कानुन कार्यान्वयनमा सख्त रहेकी बाइवा केही महिनादेखि सिमरामा चर्चामा रहेकी थिइन्। उनले तोकिएको समयभन्दा बढी मेला, महोत्सवलाई चलाउने अनुमति दिएकी थिइनन् भने रातको समयसीमालाई नाघेर कुनै पनि काम गर्न दिएकी थिइनन्।

उनको सरुवाको मूल कारणचाहिँ जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सह–सचिव शान्तिराज प्रसाईँसँगको ‘खचपच’ हो।

विवरणअनुसार प्रसाईंसँग तेलको कुपनमा विवाद भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो। सोही विषयमा छानबिनका लागि उनलाई काठमाडौंबाट बोलाहट भएको हो। 

इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उनले उपमहानगरपालिकाबाट सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन लिएकी थिइन्।

१८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि डीएसपी वाइवाले कुपन च्यातेकी थिइन्।

उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन्। जबकि उपमहानगरले महिनामा सय लिटर इन्धन मात्रै दिने गरेको थियो। जेठ १८ मा थोरैको कुपन दिएकी भनी वाइवाले विवाद गरेकी थिइन्।

यो देखाउने कारण भए पनि प्रथम श्रेणीका अधिकृतले लिएको ‘इगो’चाहिँ उनका निम्ति सरुवाको मुख्य कारण बनेको बताइन्छ। सह–सचिवको दर्जा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) सो–सरह हुन्छ। तर कनिष्ठ अधिकारीले विवाद गरेको झोंकमा प्रसाईंले बाइवाको सरुवा गराएको भन्ने पनि बुझिन्छ।

नेपाल प्रहरीमा रहेका अधिकृत महिलाले कानुन र सुव्यवस्थामा कडाई गर्दै आएका छन्। ति मध्यकी एकमा पर्छिन् बाइवा। सोही कारण प्रहरी प्रधान कार्यालयले ५ महिनाअघि उनलाई ठूलो इलाका रहेको ‘क’ बर्गको सिमरामा खटाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध