नेभिगेशन
राजनीति

राजावादीले आज शोक मनाउने, आन्दोलनका कार्यक्रम नगर्ने

काठमाडौं - राजावादीहरूले आज (सोमबार) को आन्दोलन स्थगित गरेका छन्। आज जेठ १९ गते वीरेन्द्र, ऐश्वर्यलगायत राजपरिवारका सदस्यहरूको निधन भएको शोकपूर्ण दिनको सम्झनामा संयुक्त जनआन्दोलन समितिले सबैलाई शान्तिपूर्ण सहभागिताको आह्वान गरेको छ।

समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन्। उनले भनेका छन्, ‘आज जेठ १९ गते, श्री ५ महाराजाधिराज वीरेन्द्र तथा श्री ५ बडामहारानी ऐश्वर्य लगायत राजपरिवारका सदस्यहरूको हृदयविदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन हो।’

उनले अगाडि भनेका छन्, ‘शोकको दिनमा जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरू केही नगरी आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरूको चीरशान्तिका लागि दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदाय सबैलाई हार्दिक अनुरोध गर्दछौं।’

उक्त कार्यक्रममा आन्दोलनकारी र सर्वसाधारणलाई सहभागी हुन अनुरोध गरिएको छ। जनआन्दोलनका अन्य कार्यक्रमहरू पछिल्लो सूचनामार्फत प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ । आज देशभर पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस मनाइँदै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति