नेभिगेशन
समाज विविध

उता मरिमराउ घरमा प्रसाद खाँदा ११० बिरामी, यता जंगली च्याउले १६ जना सुतायो 

काठमाडौं– मरिमराउ भई १३औं दिनको प्रसाद खाएका एक सय १० जना भन्दा धेरै जना रोल्पामा बिरामी परेका छन्।

खबरअनुसार रोल्पा नगरपालिका–३ चौरपानी निवासी तिलकप्रसाद रोक्काको घरमा प्रसाद खानेहरु बिरामी परेका हुन्। 

शनिबार तिलकप्रसादका बुवाको तेह्रौँ दिनको पुन्य तिथिमा प्रसाद खाने गाउँभरिका मान्छे बिरामी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

चिकित्सकले ‘फुड प्वाइजन’को कारण उनीहरु बिरामी परेको बताएका छन्। रोक्काको घरमा उनीहरुले दालभात, पुरी, अचारसहितको खाना खााएको थिए। 

बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ। 

आठ जनाको उपचार चलिरहँदा अन्य डिस्चार्ज भएका छन्। १३ औँ दिनको पुन्य तिथिमा रोक्काका आफन्त र गाउँले गरेर झण्डै १५० जनाले खाना खाएका थिए। खानामा अचार खानेहरु बढी बिरामी परेका छन्।

यता, जंगली च्याउको तरकारी खाँदा मकवानपुर र चितवनमा १६ जना बिरामी परेका छन्। 

मकवानपुर र चितवनका ग्रामीण क्षेत्रमा आफ्नै घर नजिकै उम्रिएको च्याउको तरकारी पकाएर खाँदा १६ जना बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।  

चितवनको भरतपुर महानगरपालिकार राप्ती नगरपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका स्थानीय च्याउको तरकारी खाँदा बिरामी परेका हुन्। जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८, ओकरेका ६१ वर्षीय वीरबहादुर तितुङ र उनका ८ वर्षीय छोरा बसन्त तितुङ आफ्नै बारीमा उम्रिएको जङ्गली च्याउ खाँदा बिरामी परेका हुन्। 

उनीहरूलाई छिमेकी सुजन तामाङले शनिबार दिउँसो १ः३० बजे उपचारका लागि हेटौँडा–१ स्थित सन्चो अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार दुवैको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९, लामागाउँमा एकै परिवारका सदस्यसहित ५ जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, नातिनी ४ वर्षीया आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार छन्।

उनीहरूलाई उपचारका लागि शनिबार साँझ ६ बजे भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो। धनबहादुर गुरुङ र मनमाया गुरुङको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ। 

चितवनकै राप्ती नगरपालिका–११, कोराकमा पनि जंगली च्याउको तरकारी खाँदा एउटै परिवारका ६ जना बिरामी भएका छन्। 

बिरामी पर्नेमा ३० वर्षीया माया प्रजा, ३५ वर्षीया बुद्धि माया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीया अमृत प्रजा र २८ महिनाकी शिशु सलिन प्रजा रहेका छन्। 

च्याउको तरकारी खाएपछि विभिन्न स्वास्थ्य समस्या देखा परेका उनीहरूलाई उपचारका लागि शनिबार राति ११ बजे सरकारी अस्पताल, भरतपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ। यी बिरामी सबैको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्