नेभिगेशन
सुरक्षा–अपराध

केन्द्रीय कारागारभित्रै गोली लाग्नबाट बचेका युनुस अन्सारी रिहा हुने समयमा अर्को मुद्दा थपियो

काठमाडौं– केन्द्रीय कारागार सुन्धारामा रहँदा हत्याको योजनासहित गोली प्रहार गर्दा जोगिएका युनुस अन्सारी रिहा हुने बेला सम्पत्ति शुद्धिकरण अनुसन्धान सुरु भएको छ।

केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए। मनमित अहिले भारत पठाइसकिएको छ।

नक्कली भारतीय नोट कारोबारको प्रकरणमा युनुसले सजाय भोगिरहेका थिए। उनी भारतीय आपराधिक तथा प्रशासनिक समूहकै निशानामा पर्दै आएका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो। यो युनुसको सुरक्षा खतरालाई नजर गरेर पनि प्रहरीले सुरु गरेको अनुसन्धान मानिन्छ।

कारागार व्यवस्थापन विभागका अनुसार ललितपुरको नख्खु कारागारमा रहेका उनी अदालतको फैसलाअनुसार ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्दै छन्। 

उनी रिहा हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन विभागलाई बुधबार पत्र पठाएको छ। त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिने सीआईबीको तयारी छ।

अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए। उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए। त्यति बेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए। 

६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए। त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए।

तेस्रो पटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे। 

१० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे। त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध