नेभिगेशन
राजनीति

उपप्रमुख सुनिता डङ्गोलको दबाबमा राजु पाण्डेलाई महानगर प्रहरी बलबाट हटाउने तयारी, गुरागाँईले सोधे स्पष्टीकरण

काठमाडौं– उपप्रमुख सुनिता डङ्गोलको दबाबमा राजु पाण्डेलाई काठमाडौं महानगर प्रहरी बलको प्रमुखबाट हटाउन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले तयारी थालेका छन्। उनले यसको तयारीअनुसार ७ दिनको अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन्। 

पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण पत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारी साधनमा ह्वील लक किन गरेको? नगर प्रहरी बल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतङ्क सृजना किन गरेको? कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको भनेर जवाफ माग गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत ताला किन नखोलेको? प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको? भनेर समेत सोधिएको छ।

सञ्चारमाध्यममा बयानबाजी गरेको, उपमेयर र अन्य जनप्रतिनिधिहरूसँग सवाल जवाफ गरेर अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरेको र नियोजित रूपमा वातावरणलाई उत्तेजित बनाएर थप द्वन्द्व निम्त्याउने प्रयास गरेको भन्दै हटाउन सक्नेसम्मको चेतावनीसहितको स्पष्टीकरण सोधिएको हो।

काठमाडौं महानगरपालिका नगर प्रहरी ऐन, २०८० को दफा ५ बमोजिम नगर प्रहरीले आफ्नो रेखदेख, नियन्त्रण, र निर्देशनमा रही काम गर्नुपर्ने र सम्बन्धित अधिकारीको आदेश पालना गर्नुपर्ने व्यवस्था छ ।

स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा नगर प्रहरी बलको जिम्मेवारीबाट हटाउने भनिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति