नेभिगेशन
मनोरञ्जन
पर्दा पछाडि

पर्दामा झल्याक झुलुक ‘पाण्डेजी’ : सिलिब्रिटीका पनि ‘सिलिब्रिटी’

काठमाडौं– आउँदै गरेको फिल्म ‘नरसिंह अवतार’मा उनको कुनै भूमिका छैन। न पर्दामा न पर्दा भित्र। तर, उनले त्यहि फिल्मको गीतमा बनाएको ‘अच्छा लेकिन’ टिकटक हेर्नेको संख्या लाखौंमा पुगिसकेको छ।

फिल्म क्षेत्रमा दुई दशक बढी समयदेखि प्रडक्सन कन्ट्रोलमा सक्रिय छन्। यत्तिसम्म भन्न मिल्ने भैसक्यो कि अब त उनको ‘एकाधिकार’ जस्तो भएको छ। स्याङ्जा गृह जिल्ला भई काठमाडौंमा संघर्षको मैदानको उकाली उक्लँदै टाकुराको यात्रामा लागेका व्यक्ति हुन्, पाण्डे जी अर्थात् शंकर पाण्डे।

उनको महत्व कति छ भन्ने अभिनेत्री नीति शाहले पाण्डे जीको भिडिओ शेअर गर्दै लेखिन्,‘हाम्रो इनरजेटिक शंकर पाण्डे दाई।’

पाण्डे फिल्म नगरी र सिलिब्रिटीका लागि कस्ता व्यक्ति हुन् भने ‘माया बैगुनी, नभई नहुने’ जस्ता।

कहिल्यै गम्भिर मुद्रामा नदेखिए पनि उनका संघर्षका कथा र व्यथाका चरण नहुने कुरै भएनन्। तर, त्यो पाटोतिर बिरलै प्रवेश गर्ने शंकर पाण्डे भन्छन्,‘जीन्दगी फिल्मको कथा जस्तै हो। तर, यसलाई बियोगान्तको शिकारमा होइन, सुयोगान्तमा दी इन्ड गर्नुपर्छ।’

पाण्डेले नेपालमा चलेका र बनेका धेरै फिल्ममा प्रडक्सन कन्ट्रोलरको भूमिकामा काम गरेका छन्। त्यो जिम्मेवारीलाई बिना हिचकिचाहट पूरा गरेका छन्। आवेगमा आउने टीमका सदस्यलाई हँसाएर खुवाएका छन्, उदास बनेकालाई खुशी बनाएर काममा जोडेका छन्। 

उनले प्रडक्सन कन्ट्रोलरको जिम्मेवारी पनि बुझेका छन्, मौलिक पारामा। 

पछिल्लो पटक उनी फिल्म ‘जारी २’मा अनुबन्ध भए। त्यसको व्यवस्थापकीय विषयलाई सम्हाल्ने हिम्मत राखे।

b8bbfec3-9ebe-4885-b6f9-252bfea438b9-1747281753.jpg
खासगरी फिल्ममा प्रोडक्सन कन्ट्रोलरको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। उनी फिल्म निर्माणको आर्थिक तथा व्यवस्थापकीय पक्षको समन्वय र निगरानी गर्ने जिम्मेवारीमा रहन्छन्। प्रोडक्सन कन्ट्रोलरले फिल्मको सम्पूर्ण बजेट, खर्चको योजना, समय तालिका र स्रोत व्यवस्थापनको निगरानी गर्छन्, जसले गर्दा प्रोडक्सन सुचारु रूपमा अगाडि बढ्न सकोस्।

फिल्मको प्रारम्भिक चरणमै, उनी निर्माता र निर्देशकसँग मिलेर बजेट तयार पार्छन्। कुन विभागमा कति खर्च हुनेछ, कस्ता उपकरण आवश्यक छन्, कलाकार तथा प्राविधिकको पारिश्रमिक कति हुनेछ, यात्रा, बसोबास र खानपान खर्च कस्तो हुनेछ भन्ने कुराहरू उनी व्यवस्थापन गर्छन्।

शुटिङको क्रममा, प्रोडक्सन कन्ट्रोलरले दिनदिनैको खर्च ट्र्याक गर्छन् र सुनिश्चित गर्छन् कि कुनै पनि खर्च बजेटभन्दा बाहिर नजाओस्। यदी अप्रत्याशित समस्या आयो भने उनी समाधानको उपाय सुझाउँछन् र योजना परिमार्जन गर्छन्।

त्यस्तै, उनी विभिन्न विभागहरू—जस्तै क्यामेरा, प्रकाश, पोशाक, कला निर्देशन आदि—सँग समन्वय गरी आवश्यक सामग्री समयमै उपलब्ध गराउने सुनिश्चित गर्छन्। फिल्मको तालिका भित्रै सबै काम पूरा होस् भन्नेमा उनी सधैं सजग रहन्छन्।

शुटिङ सकिएपछि पनि पोस्ट प्रडक्सनको खर्च, भुक्तानी र लेखा जोखा प्रोडक्सन कन्ट्रोलरले नै व्यवस्थापन गर्छन्।

यसरी, प्रोडक्सन कन्ट्रोलर फिल्मको “पर्दा पछाडिको निर्देशक’’ जस्तै हुन्छन्, जसले प्राविधिक पक्ष र आर्थिक अनुशासनलाई सम्हालेर फिल्म सफल बनाउन ठूलो भूमिका खेल्छन्। उनीबिना फिल्म निर्माणको प्रक्रिया अस्थिर र अव्यवस्थित हुन सक्छ।

शंकर पाण्डे यहि विषयमा निक्कै चुस्त रहेका कारणले नै प्राय जस्तो फिल्ममा उनको माग बलियो मात्र होइन, सिलिब्रिटीले पनि सिलिब्रिटी बनाएका छन्। उनी केमियो त हैनन् तर फिल्ममा पनि झल्याक झुलुक आउने गर्छन् कतिपय दृश्यमा। यो उनको सफल कर्मयोगको शेष पाटो मानिन्छ।

उनले अहिलेसम्म १२५ वटा भन्दा बढी फिल्ममा प्रडक्शन कन्ट्रोलरको भूमिकामा काम गरिसकेका छन्। पाण्डे भन्छन्,‘यो अत्यन्तै दुखको काम हो। तर, कामलाई दुख मानियो भने जीन्दगीको रथलाई चट्याङ ठानिन्छ। कामलाई सहज हिसाबले नै गर्न रुचाउँछु।’

पाण्डेले नेपाली फिल्ममा मात्र होइन नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाइँ’मा पनि प्रडक्सन कन्ट्रोलरका रुपमा काम गर्न भ्याए। बलिउडका महानायक अमिताभ बच्चन, चरित्र अभिनेताका प्रखर अनुपम खेर, खलपात्रका रुपमा बिख्यात डेनी डेन्जोम्पा र अभिनेत्री परिणीति चोपडा अभिनित फिल्म हो, उचाईँ। ‘मैले परिणीतिसित निक्कै निकट भएर काम गरेको छु’, उनको अनुभव छ।

लालटीन, कर्मालगायतका फिल्म उनको खटाईका हिसाबले स्मरणीय छन् भने काम नगरेका कलाकार र निर्देशक कम छैनन्। स्वस्तिमा र निश्चलदेखि प्रियंका कार्कीसम्म, हरिवंश आचार्यदेखि उपेन्द्र सुब्बासम्मका फिल्ममा उनी नै प्रडक्शन कन्ट्रोलरका रुपमा काम गरिसकेका व्यक्ति हुन्।

19be5d59-94ea-4810-a8e3-79f0b2c131dd-1747281773.jpg
एक हिसाबले निश्चित बजेट हुने नेपाली फिल्मलाई पर्दासम्म पुग्दा संचित बजेटमा तयार पार्नमा उनी खप्पिस छन्। त्यसैले त हरेक निर्देशक र कलाकारले उनलाई ‘सेलिब्रिटी’ मान्छन्। 

स्याङ्जाको वालिङ नगरपालिका–६ बाट काठमाडौंमा ०५५ सालमा भविष्यको खोजीमा उत्रिएका युवा आज पर्दामा झल्याक झुलुक त हुन्छन् नै पर्दापछाडिका त एक भयानक चर्चित व्यक्ति बनिसकेका छन्।

मनोरञ्जन उद्योगमै सही कहिलेकाही पाण्डे यस्ता पात्र जस्ता लाख्छन् जसलाई स्टिभ जनसनले ब्याख्या गरेका हुन् कि ‘मार्गचित्रहरु रणनीतिका प्रमाण हुन् सुविधाका सूची होइनन्।’

फिल्म क्षेत्रमा पाण्डेको कार्यकौशलता पनि त्यसको मार्गचित्र र रणनीतिको प्रमाणका आधारमा सुविधाका सूची बनाउने काम होइन भन्ने प्रष्ट हुन्छ। फिल्म क्षेत्रमा खारिएको अनुभवका आधारमा नै पाण्डे पनि भन्छन्,‘ रणनीतिको सार भनेको के नगर्ने भनेर छनौट गर्नु हो।’

यसैकारण होला ०८२ सालमा पनि फिल्म क्षेत्रले उनलाई प्रस्तावमाथि प्रस्ताव ल्याइरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा