नेभिगेशन
सुरक्षा–अपराध

नियन्त्रणमा राखिएका आफ्ना हवल्दारलाई सशस्त्रले प्रहरीसमक्ष बुझायो

काठमाडौं– मोटरसाइकल दुर्घटना गराएपछि नियन्त्रणमा राखिएका संगठनका हवल्दारलाई सशस्त्र प्रहरी बलले नेपाल प्रहरीलाई बुझाएको छ।

सहायक हवल्दार सुवासकुमार सिंहलाई प्रहरीसमक्ष बुझाएको हो। उनले चलाएको मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। 

वैशाख २४ गते दुर्घटना गराएका सहायक हवल्दारलाई शनिबार मात्र प्रहरीमा बुझाइएको थियो।

वैशाख २४ गते साँझ साढे ५ बजे कटहरिया नगरपालिका–४, लालबकैया बाँधमा गस्ती गर्न सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारबाट उनको कमाण्डमा टोली खटिएको थियो। 

भारतबाट नेपालतर्फ भन्सार छलीको सामान ल्याउँदै गरेको ग४प ४०७३ नम्बरको मोटरसाइकललाई उनले चलाएको बा८४प ७३८३ नम्बरको मोटरसाइकलले रोक्न खोज्यो। 

तस्करहरु त्यहाँबाट उम्किए। उनी सवाररत मोटरसाइकल भने अनियन्त्रित भई कटहरिया बजारबाट लालबकैया पुलतर्फ जाँदै गरेको बिआर३०बी७९३६ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुग्यो। ठक्करबाट सो मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–४, टेग्राहा टोलका मोबिल राय यादवका ४५ वर्षीय छोरा अनुठा राय यादव र ३५ वर्षका दिलिप साह कानु गम्भीर घाइते भए।

स्थानीय मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि वीरगञ्जस्थित गण्डक अस्पताल रिफर गरिएकोमा अनुठाको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि परिवारले सुवासविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सहायक हवल्दारलाई अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध