नेभिगेशन
राजनीति

गिरिबन्धु र वाइडबडी घोटालामा रास्वपाले माग्यो संसदीय छानबिन समिति

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीले गिरिबन्धु टी स्टेट र वाइडबडी घोटालाको छानबिनका लागि संसदीय समिति गठनको माग गरेको छ । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउने नजिर सदनले स्थापित गरेकाले दुबै विषयमा समिति बनाउन माग गरेकी हुन् । ‘जनताले गम्भीर प्रश्न उठाएको गिरिबन्धुको विषयमा, वाइडबडी घोटालाको विषयमा संसदीय छानबिन समिति किन नबनाउने?’ उनले भनिन्, ‘तत्कालका लागि मेरो दल यी दुई विषयमा संसदीय छानबिन समितिको जोडदार माग गर्दछ।’

सांसद गौतमले प्रतिशोध साधेर राज्यले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण लगाउँदा हजुरबुवाले आर्जेको सम्पत्तिसमेत नछोडिएको भन्दै अन्य नेता र मन्त्रीहरूको सम्पत्ति शुद्धिकरण हुनुपर्ने माग गरिन् । ‘दुई वर्षको मात्र संसदीय अनुभव बटुलेका हाम्रा नेता लामिछानेको सम्पत्ति परीक्षण हुँदै गर्दा, जीवनभर कुनै पेशा नगरी केवल राजनीति गर्नुभएका, वर्षौं–वर्षसम्म यो देशको नेतृत्व गर्नुभएका प्रधानमन्त्रीज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरू, राजकीय पद धारण गरेका नेताहरूको सम्पत्ति परीक्षण गर्नु पर्दैन?’ उनले प्रश्न गरिन् । 

गौतमले सबै नेताहरूले सम्पत्ति छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिइन् । ‘सम्पत्ति शुद्धिकरण मुद्दा प्रधानमन्त्री मातहतको विभागले होइन, छुट्टै एउटा स्वायत्त आयोग गठन गरी त्यो आयोगले हेर्ने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् ।

मनि लाउन्डरिङको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाल “ग्रे लिस्ट” निगरानी सूचीमा पर्ने संघारमा पुगेको बेला यो छानबिनले देशकै छवि सुधारमा केही योगदान पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै