नेभिगेशन
राजनीति

एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् । साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए ।

‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँ भित्रको अवस्था हामीले देखिरहेका छौं । त्यसप्रति लसपस कसैको छ भने आशा छ भने मेरो भन्नु केही पनि छैन,’ अध्यक्ष नेपालले भने ।

शुक्रबार आफ्ना पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले एमालेकै नेताहरूबाट आएका अभिव्यक्ति पनि आफ्नो पार्टी सक्काउने र प्रहार गर्ने गरी आइरहेको बताए ।

‘यो पार्टीसँग उसको संलग्नको कुरा गर्ने हो भने त्यहाँका नेताहरूको अभिव्यक्तिबाटै थाहा हुन्छ, यो पार्टी कसरी सक्काउने, कसरी प्रहार गर्ने भन्ने उनीहरूले भनिरहेको हामीले बुझिरहेका छौं । यो पार्टीलाई बलियो बनाउनका लागि आजको घटनाले निकै राम्रो भूमिका खेल्ने छ,’ अध्यक्ष नेपालले भने ।

आफ्नो पार्टीको शक्तिका कारण राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको उनले जिकिर गरे ।

‘विचार सिद्धान्त मिलेको खण्डमा अरु कुरा पनि मिलेको खण्डमा त्यस्ता त्यस्ता समूहसँग मिलेर पनि अघि जानसक्छौं,’ अध्यक्ष नेपालले भने, ‘हामी त्यसलाई पहिलो महत्व दिँदैनौं । पहिलो महत्व आफ्नो पार्टी एक बनाउन लाग्छौं । आफ्नो पार्टी बलियो भयो भने मात्रै अरुसँगको एकता सार्थक र अर्थपूर्ण हुन्छ । हाम्रो पार्टीको शक्तिको कारणले पनि राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेका छौं ।’

उनले कसैप्रति पनि आग्रह नपालिकन काम गर्नुपर्ने बेला आएको बताए । नेता कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले जिम्मेवारी पूरा गर्नेगरी ध्यान दिन आग्रह गरे ।

‘चैत १५ गते हामीले तत्कालीन समयमा राजतन्त्रबारे जनतामा भ्रम सिर्जना गर्न खोजेका थिए । त्यसलाई चुनौती दिँदै हामीले सभा आयोजना गरेका थियौं । त्यसले सन्देश दिएको थियो । त्यतिबेलाका राजावादीले आयोजना गरेको भन्दा कयौं गुणा ठूलो कार्यक्रम थियो,’ अध्यक्ष नेपालले भने, ‘मन खिन्न गर्नुपर्ने कुनै आवश्यकता छैन । निराश हुनुपर्ने कुनै आवश्यकता छैन । बामदेव कमरेड पनि एकताबद्ध भएपछि यो शक्ति ठूलो हुन्छ नै । वृद्धि हुन्छ नै । नयाँ ऊर्जा बढाउनुपर्छ ।’

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति