नेभिगेशन
खेलकुद

स्पाइकर चौधरी बोलाए फर्किने, भलिबलकी राष्ट्रिय खेलाडीले के भनिन् ?

काठमाडौ - नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा एपिएफकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छिन्। 

एपिएफबाट १२ वर्ष व्यवसायिक भलिबल खेलेकी सरस्वती ९ बर्षअघि सशस्त्र प्रहरीमा भर्ती भएकी‌ थिइन् । सशस्त्रबाट राजीनामा गरेर फर्केकी सरस्वती बिहीवार अस्ट्रेलिया पुगेकी छिन्।

सन् २०१३ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेकी सरस्वतीले पछिल्लो पटक साउनमा काभा नेसन्स लिगमा नेपालको प्रतिनिधित्व गरेकी‌ थिइन्। राष्ट्रिय टोलीमा बोलाएको खण्डमा आउने उनले हाम्रो खेलकुदलाई बताएकी छिन् ।

‘व्यक्तिगत विकासका लागि नयाँ चुनौतीका साथ यता आएकी छु, उनले भनिन्, केहि दिनमा कलेजमा भर्ना गर्ने तयारीमा छु। राष्ट्रिय टोलीमा‌ बोलाइएको खण्डमा आउनेछु।’

सरस्वती सफल खेलाडीमा‌ पर्छिन्। महिला टोली प्राप्त गरेका सबै सफलतामा‌ उनी मुख्य खेलाडी मध्येकी हुन् । उनी सम्मिलित टोलीले दुई पटक एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) र काभा नेसन्स लिगमा नेपाल दोस्रो हुँदा पनि उनी टोलीमा‌ थिइन्। साउनमा नेपाल पुलिस क्लबले काभा क्लब च्याम्पियन्सिपमा जित्दा पनि उनी टोलीमा थिइन् ।

एपिएफबाट खेल्दा उनले देशका अधिकांश प्रतियोगिता जितेकी थिइन् । कैलाली धनगढीकी सरस्वतीले पोखरा फिस्टेल एकेडेमीमा बसेर भलिबल प्रशिक्षण गरेकी थिइन् ।

आइतवार पोखरामा भएको पाँचौं संस्करणको टाइगर कप खेल्न उनी स्वदेश फर्किएकी थिइन्। फाइनलमा आयोजक टाइगर ग्रुपसँग एपिएफ पराजित भएको थियो । उनलाई एपिएफ टोलीका खेलाडीले बिदाइ गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद