Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वर सम्राट नारायण गोपालले ‘दुई पेग’ लगाएर र ‘आइसक्रिम’ खाएर गाएका गीत कुन–कुन थिए?

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं– नेपाली सांगितिक क्षेत्रमा स्वर सम्राटको उपाधि पाएका गायक नारायण गोपालका फिल्मका गीत पनि रहेका छन्। उबेला भारतको मुम्बईमा गएर गीत रेकर्ड गराउने चलन थिए। 

नेपाली फिल्ममा प्रायः रञ्जित गजमेरको संगितमा स्वर भरेका नारायण गोपालले रेकर्ड गराउँदाका रमाइला किस्साहरू धेरै छन् तर दुई प्रसङ्गलाई निर्देशक तुलसी घिमिरेले खुलाएका छन्। 

एउटा टेलिभिजन अन्तरवार्तामा घिमिरेले नारायण गोपाल जस्तो क्षमता र प्रतिभावान गायक अहिलेसम्म जन्मिन नसकेको बताउँदै आफ्ना दुई फिल्मका गीत रेकर्डडिङका क्रममा किस्सा सुनाएका हुन्। 

घिमिरे निर्देशित फिल्म ‘लाहुरे’को ‘...आकाशको माथि माथि’ र ‘...बीरताको चिनो’ भन्ने बोलको गीत गाउँदा नारायण गोपालले स्वरलाई हाइपिच बनाउनका लागि दुई पेग लगाएको प्रसङ सुनाए।

उनले भने,‘उहाँमा अलग खुबी थियो। हाइपिचमा रेकर्ड नभएपछि रेकर्डिस्टले भनेजस्तो आएन भनेपछि नारायण दाई एकै छिन है भनेर जानुभयो र दुई पेग लगाएर आउनु भएछ। त्यसपछि त गज्जबको स्वर खुल्यो।’

नारायण गोपालले गीतमा भाव ल्याउनका लागि अनेक खालका प्रयोग गर्ने गरेको बताएका घिमिरेको अर्को फिल्म ‘दक्षिणा’को गीत गाउँदा पनि अचम्मित पारेका रहेछन्। 

‘...यो मुटुलाई कसरी सम्झाउँ’ बोलको गीत रेकर्डअघि नारायण गोपालले आइसक्रिम मगाएको घिमिरेले सुनाए। ‘हामी त छक्क परेका थियौं। किन गायकले आइसक्रिम खाएको होला भनेर’, घिमिरे जोड्छन्,‘यो गीत ४ पटक रेकर्ड गरियो। पहिलो नसुनाएर तीनवटा सुनाइयो। उहाँले गज्जब भन्नुभयो। अन्तिम पनि छ भनेर सुरुको सुनायौं। उहाँले ठट्टा पनि गर्नुभयो।’

तर सुरुको गीत नै फिल्ममा राखिएको जानकारी दिएका घिमिरे भन्छन्,‘गीतमा भाव ल्याउन र बीच्चमा खोक्नुभएको छ। त्यसले गीतलाई प्राण दियो। हामी त दङ्ग भयौं नि।’

नेपाली गायन उद्योगमा नारायण गोपाललाई सँधै स्मरण गरिन्छ भने कालजयी गीतका सर्जकका रुपमा पनि मानिन्छ। उनले कतिपय मिडियालाई दुर्लभ रुपमा अन्तरवार्ता दिने गरेका थिए। 

त्यसबेला विमर्श साप्ताहिकमा दिएको एउटा अन्तरवार्तामा पत्रकारले ‘तपाई किन बलिउडमा नजानुभएको? यहाँका सबै गइसके त!’ भनेर सोधेको प्रश्नमा नारायण गोपालको उत्तर थियो,‘म बलिउड गएँ भने बलिउडकाचाहिँ कहाँ जान्छन् नि!’
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्