प्रचण्डले कांग्रेस सभापति देउवाको आलोचना नगर्नुको ‘राजनीतिक कारण’
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एउटा नयाँ जानकारी सार्वजनिक गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक साता आफ्ना दलका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने प्रस्ताव पठाइरहेको थापाको भनाई थियो।
थापाको भनाईमा सत्यता हुनुका दुई कारण छन्।
पहिलोचाहिँ प्रतिनिधि सभाको यो अन्तिम विकल्पमा बनेको कांग्रेस–एमाले सत्ता गठबन्धन भत्काउनका लागि प्रचण्ड आन्तरिक प्रयासमा छन्। र, विकल्पको गठबन्धनका निम्ति कांग्रेस अपरिहार्य शक्ति हो।
दोस्रोचाहिँ आफूलाई सत्ताच्युत गरेका नेकपा एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्तिबाट ओराल्नु छ। अर्थात् ओलीलाई २ बर्षको प्रधानमन्त्रीत्वको जिम्मेवारीबाट असमयमा नै निकाल्नु प्रचण्डको योजना हो। यसैले उनले भूराजनीतिक प्रभाव पार्नका लागि पनि भारतीय पक्ष रिझाउनका लागि सक्रिय छन्।
अहिलेको सत्ता समीकरण बदल्नका लागि सदनको पहिलो दल कांग्रेसको संख्या निर्विकल्प हुन्छ। माओवादीलाई सत्तामा पुग्न अथवा एमालेलाई सरकारबाट ओराल्नका लागि कांग्रेसको विकल्प नहुने भएकाले प्रचण्डले देउवाको आलोचना नगरेका हुन्।
यसअघि पनि ओलीको सरकार गिराउनका लागि देउवाको सहयोग प्रचण्डका लागि ‘राजनीतिक जित’ सरह थियो। नेकपा विभाजन भएपछि ओलीलाई सत्ताच्युत गर्नका निम्ति प्रचण्डको कसरत देउवालाई प्रधानमन्त्री बनाएर मात्र सफल भएको थियो।
देउवालाई अबको १८ महिनापछि प्रधानमन्त्री बन्ने भन्दा पनि अहिले नै त्यस कुर्सीमा राखिदिन पाए आफू शक्तिमा चढ्न सक्ने प्रचण्डको विश्लेषण छ।
‘पहिला पनि सदन विघटन गरी ओलीले चुनावको घोषणा गर्दा देउवा निर्वाचनमा जान तयार थिए। तर, प्रधानमन्त्रीको कुर्सी लगेर प्रचण्डले राखिदिएपछि उनी रोकिए’, उच्च राजनीतिक स्रोतले भन्यो,‘त्यस्तै अभ्यास सफल हुने विश्वासमा प्रचण्ड रहेका छन्। तर त्यो कति सम्भावना हुने हो पत्तो छैन।’
यसबीच देउवासँग भएका कतिपय बातचितमा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई)मा हस्ताक्षर गर्ने भनी प्रचण्डले कान फुकेको बताइन्छ। त्यसपछि कांग्रेस र एमालेबीचका वार्ताहरूमा ऋण सम्झौता नहुने सहमति बनेको थियो।
कांग्रेसमा प्रभाव राख्ने परराष्ट्रमन्त्री तथा देउवापत्नी आरजु राणाले चीन जाने बेला भनिन्,‘अनुदानमा आएको बीआरआई मात्र सरकारले स्वीकार गर्छ।’
त्यसअघि ओलीले पनि कुनै प्रकारको ऋणचाहिँ नलिने बताएका थिए। यसले तत्कालका लागि प्रचण्डको सरकार गिराउने योजना सफल हुने सम्भावना नदेखिए पनि उनको प्रयास र खेलहरू जारी नै रहने सामान्य अनुमान गर्न सकिन्छ।
देउवालाई विकल्पमा राखेर प्रचण्डले यसअघि पनि सत्ता समीकरण बदल्दा यस्ता खेल रचेका थिए। चुनावपछि प्रधानमन्त्री बन्नका लागि एमालेको साथ लिए भने त्यसपछि शक्ति सन्तुलनका नाममा कांग्रेसको सहयोग पाएका थिए।
लगत्तै एमालेसहितको समीकरण तयार पारी प्रचण्डले सत्ता हाँक्न खोज्दा सरकार गिरेको थियो। उनले १८ महिना सरकार हाँकेका थिए। अब फेरि पनि शक्तिमा उदय हुनका लागि उनले देउवालाई फकाइरहेको विषय महामन्त्री थापाले नै सतहमा ल्याएका छन्।
तर थापा भन्छन्,‘हामी स्थिर सरकार चहान्छौं। प्रधानमन्त्री पद भन्ने हाम्रो प्रधानमा पर्दैन। स्थिरताका लागि हामी एमालेसँगको सहकार्यमा शतप्रतिशत अडिग रहनेछौं।’