सहकारी ठगीमा ओली कुर्लिनुको कारणः एमालेका राजीव पहारी पनि जोडिए, रविदेखि महेन्द्र भोटेसम्म जीवीको कनेक्शन 

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा एमालेका युवा नेता राजीव पहारीसमेत जोडिएका छन्। पोखरा महानगरपालिकाले पुनः गरेको छानबिनमा पहारीको संलग्नता खुलेको हो। 

जीवी राई र गुन्डा नाईके शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का संरक्षकका रुपमा चिनिएका पहारीले सहकारीबाट कर्जाका नाममा मात्र नभई चन्दाको रुपमा पटक–पटक लाखौं रकम लगेको भेटिएको हो। 

पछिल्लो प्रतिवेदनमा १५ लाख रुपैयाँ नेता पहारीले सहकारीबाट लिएको उल्लेख छ। 

चुनावदेखि विभिन्न कार्यक्रमका नाममा सहकारीबाट लाखौं रुपैयाँ बिना रेकर्ड सहकारीका अध्यक्षको डायरीमा टिपाएर लिने गरेको प्रतिवेदनमा उल्लेख छ। 

अध्यक्ष रहेका जीबी राईले गृहमन्त्री रवि लामिछानेदेखि महेन्द्र भोटेसम्मलाई सहकारी ठगीको कनेक्शनमा तानेका छन्।  

सूर्यदर्शन सहकारीको मुद्दामा जीवी राईसहित महेन्द्र भोटे पक्राउ पर्ने भएपछि नेता पहारीले पोखराको फिस्टेल लजमा प्रहरी प्रशासन, सरकारी वकिल, पोखरा महानगरपालिकाका प्रतिनिधि भेला गरेर एमालेका नेता महेश बस्नेतको उपस्थितिमा मुद्दालाई कमजोर बनाउन षडयन्त्र गरेको आरोप लागेको छ। 

यसैकारण पनि एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगी प्रकरणमा रविलगायतको बचाऊमा उभिएको पुष्टि भएको छ। 

स्वतन्त्र रुपमा छानबिनका लागि ओली आयोग बनाउन तयार नहुनुको कारण एमालेका नेता कार्यकर्ता समेत जोडिने स्थितिले रहेको स्रोतले जनायो। पहारी ओलीनिकट मानिन्छन्।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्