प्रहरीभित्र हस्तक्षेप र राजनीति

सुन प्रकरणमा पूर्वआईजी डाम्नेदेखि बाहलवाला आईजीलाई ‘स्याक’ गर्नेसम्म यस्तो थियो तानाबाना, पर्दा पछाडि के–के हुँदैछ?

आइतबार, वैशाख २३, २०८१

काठमाडौं– सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रयोग गरी नेपाल प्रहरीका दुई जना पूर्वप्रहरी महानिरिक्षक (आईजी)सहित बाहलबाला आईजी बसन्तबहादुर कुँवरलाई ‘स्याक’ गर्ने षडयन्त्रको खुलासा भएको छ।

जब सुन तस्करीको छानबिनको जिम्मा तत्कालिन सरकार र गृहमन्त्रीले सीआईबीलाई जिम्मा दियो त्यसपछि पूर्वआईजीहरू सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहलाई डाम्नका लागि दबाब दिइएको थियो। यसबाहेक सोही प्रकरण देखाएर सीआईबीकी तत्कालिन प्रमुख किरण बज्राचार्यसँग स्पष्टिकरण सोध्ने र आईजीको मातहतमा रहेको कार्यालय भएका कारण अहिलेका आईजी कुँवरलाई हटाउनेसम्मको खेल भएको उच्च स्रोतले जानकारी दिएको छ। 

सुन तस्करीको विषय छानबिनकै क्रममा रहेका बेला हालका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सीआईबी कार्यालय पुगेर नै तत्कालिन सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यलाई यसरी दबाब दिएका थिए। 

उनले खासगरी पूर्वआईजी खनाल र सिंहलाई जसरी भए पनि यस प्रकरणमा मुछ्नका लागि दबाब दिएका थिए। तर, सीआईबीले पूर्वआईजीको संलग्नताको विषय कहिँ कतै पनि फेला पारेको थिएन। 

उच्च स्रोतले भन्यो,‘गोप्य रुपमा सीआईबीमा पुगेर हालका गृहमन्त्री लामिछानेले दबाब दिएका थिए। तर सीआईबीले यस विषयमा प्रमाण नै नपुगिसकेको र संलग्नता देखिए अनुसन्धान हुने जवाफ दिएको थियो।’

राजश्व अनुसन्धान विभागका उपसचिव सन्तोष पौडेलले सबै सूचना चुहावट गरी लामिछानेमार्फत अनुसन्धानलाई प्रभावित बनाउने कोशिश गरेका थिए। पौडेल अहिले गृहमन्त्री लामिछानेको सरकारी तर्फबाट निजी सचिवालयका प्रमुख छन्। गृहमन्त्री बन्नासाथ लामिछानेले पौडेललाई आफ्नो दफ्तरमा सरुवा गरी ल्याएका थिए। 

लामिछाने अघिल्लो पटक गृहमन्त्री हुँदा आईजी रहेका सिंहले कतिपय उनका सिफारिसमा काम नगरिदिएको प्रतिशोध साँध्न तथा लामिछाने सञ्चारकर्मी हुँदा शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा तत्कालिन आईजी खनालले पक्राउ गरेको ‘बदला’ लिने अभिप्रायले यस्तो गरिएको भन्ने स्रोतको दाबी छ।

सुन तस्करी प्रकरणमा पूर्वआईजीलाई जोगाइएको भनेर लामिछाने आफैंले हल्ला चलाए। यहाँसम्मकी विवादमा तानिएको ‘सिधाकुरा’को युट्युवमा र अनलाई समाचार र भिडिओ पनि बनाएर विवादमा तान्ने कोशिश गरिएको थियो। 

गृहमन्त्री हुनासाथ लामिछानेले अन्य विषयलाई किनारामा राखी सुन तस्करी पैठारी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे। त्यो निर्णयसँगै आयोगले नियतबस सीआईबी प्रमुख रहेकी बज्राचार्यसहितका अनुसन्धान अधिकारीलाई प्रधान कार्यालयमा तानी हाल्यो। 

गृहमन्त्री लामिछानेले तत्कालै सीआईबीको प्रमुखमा नागरिकतालगायतको विवादमा तानिएका एआईजी श्यामलाल ज्ञवालीलाई सीआईबीको प्रमुख बनाए।  उनीबारेको उजुरीलगायतका विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको विवरण यसअघि सार्वजनिक भएका थिए। 

यसमा पनि दुई वटा प्रमुख कारण रहेको स्वभाविक अनुमान गर्न सकिन्छ। 

सहकारी ठगी प्रकरणको मुद्दाले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दबाबमा राखेपछि अनुसन्धान सीआईबीलाई दिएका थिए। त्यसको अनुसन्धान अधिकारीका रुपमा बज्राचार्यको नेतृत्वमा छानबिन चलिरहेको थियो। 

सो प्रकरणमा जीबी राईको लोकेशन ट्रेस गरी पक्राउ गर्ने स्थितिमा सरकारको समीकरण फेरिनासाथ लामिछानेले गृह मन्त्रालय लिएर सहकारी प्रकरणलाई प्रभावित बनाइदिएका छन्। मुख्य अभियुक्त भनिएका जीबी राई हालसम्म पनि पक्राउ परेका छैनन्। 

संसदको राज्य व्यवस्था समितिमा यस विषयमा लामिछानेमाथि प्रश्न उठेपछि उनले मातहतको निकायका प्रमुख रहेका आईजी कुँवरलाई जवाफ दिन मात्र लगाएनन् गृहमन्त्रीको हैसियतमा आदेश दिएर नै गण्डकी प्रदेश प्रमुखसहित जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षकलाई पनि उभ्याए।

आईजी कुँवरलाई हटाउने नेपथ्यको योजनाचाहिँ आईजी बन्न चहाने एआईजी ज्ञवालीको रहेको बताइन्छ। आईजी फ्रान्समा रहेका बेला नै प्रहरी नायव उपरिक्षक (डीआईजी) सरुवादेखि उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई हटाइएको थियो। यो काम पनि ज्ञवालीको सल्लाहमा नै भएको चर्चा प्रहरीवृत्तमा चलिरहेको छ। 

अर्कोचाहिँ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा नै आईजी कुँवरलाई विवादमा तान्ने प्रयास गरिएको थियो। त्यसबेला सत्ता समीकरण बदलिनासाथ ज्ञवालीलाई उपत्यका प्रहरी कार्यालयको प्रमुखबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो।

यसबाहेक आईजी कुँवर विदेश जाँदा निमित्त प्रमुख नदिएको झोंक पनि ज्ञवालीमा रहेको छ। एक त आईजी नियुक्ति नपाएको तनाव अर्कातिर उपत्यका प्रहरी कार्यालयबाट तानिनु र आफूभन्दा जुनियर एआईजीले निमित्त पाउँदा आफूले नपाउनुको पीडा समेत ज्ञवालीमा रहेको उच्च स्रोतहरू दाबी गर्छन्।

यति मात्र छैन सकेसम्म पर्दापछाडि विभिन्न तानबाना अझै पनि बुन्ने काम भइरहेको छ। सीआईबी स्रोतका अनुसार कस–कसले आफूविरुद्ध सूचना संकलन गरिरहेको छ उसको अभिलेख राख्ने काम पनि जारी छन्।    

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्