Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईजी कुँवर फ्रान्सबाट फर्किनुअघि नै प्रहरीका उच्च अधिकारीको सरुवा, विधिलाई गृहमन्त्रीको 'लोप्पा'

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं– नेपाल प्रहरीका महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर फ्रान्सबाट फर्किनुअघि नै गृहमन्त्री रवि लामिछानेले कार्यविधि मिचेर प्रहरीका उच्च अधिकारीको सरुवा गरेका छन्। 

हुन त गृहमन्त्रीको मातहतमा रहेको प्रहरी सरुवाको निर्णय गर्न सक्ने प्रावधान भए पनि प्रहरी प्रधान कार्यालयले बनाएको एउटा मानकलाई रवि लामिछानेले लोप्पा खुवाइदिएका हुन्। 

आईजी कुँवर नेपालमै हुँदा पनि विभिन्न जिल्लाका प्रहरी कमान्डर (एसपी) सरुवामा कार्यविधिसम्बन्धि मानक नमिचिएको होइन। तर, उनको सहमतिबिना नै प्रदेश प्रहरी प्रमुखदेखि सुरक्षा संवेदनशिल मानिएको उपत्यकाको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धानका कमान्डरको सरुवामा गृहमन्त्री लामिछानेले हावी भए। 

त्यसका लागि एक दिनसम्म पनि आईजी कुँवरलाई पर्खिनुको साटो सिधा निर्णय गरिएको छ। जसअनुसार शुक्रबार मात्रै गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखमा दुर्गा सिंह चन्दलाई पठाइएको छ। 

त्यो भन्दा पनि मुख्यचाहिँ सुरक्षा संवेदनशिल मानिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरलाई तानिएको छ। 

र, ति स्थानमा बसन्त रजौरे र सानुराम भट्टराई पठाइएका छन्। ‘गृहमन्त्रीले सरुवा गर्न नसक्ने भन्ने होइन। तर, आईजी यहिँ भएको र सहमति गरेको भए यसमा हावी भएको जस्तो देखिने थिएन, अपजस पनि लिनुपर्ने स्थिति थिएन। एक दिनसम्म पर्खिन सक्ने अवस्था थियो’, प्रहरीका एक जना पूर्वएआईजी भन्छन्,‘यो गलत अभ्यास त अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठका पालादेखि नै भएको थियो। तर, यसमा अपजसचाहिँ आईजीले पाएका थिए।’

IMG-20240426-WA0033-1024x768-1714116851.jpg

त्यसबेला नक्कली भुटानी शरणार्थी छानबिन प्रकरण हेरेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीदेखि काठमाडौंमा प्रमुख रहेका दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका डा. मनोज केसीको सरुवा गरिएको थियो।

ति एआईजी भन्छन्,‘त्यो हिजो पनि गलत थियो र आज पनि गलत हो। यसमा आईजीको अडान बलियो हुनुपर्ने थियो, रहन सकेन। यसले प्रहरीको चेन अफ कमान्ड कमजोर मात्र होइन आईजीले स्ट्यान्ड लिन नसकेको हो भनेर बुझ्नुपर्छ।’

यसमा गृहमन्त्रीले मात्र नभई प्रहरीभित्रको अस्वस्थ्य राजनीतिक चलखेल, षडयन्त्रले पनि काम गर्दै आएको छ। उच्च स्रोतहरूका अनुसार अहिलेको सरुवामा गृहमन्त्रीलाई सल्लाह दिनेमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका एआईजी ज्ञवाली हुन्। जो लामिछाने आउनासाथ कार्य विभागबाट सिधा सीआईबीको प्रमुखमा सरुवा भएर पुगेका थिए। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्