यस्तो छ कतारका राजा अल थानीको सुरक्षा प्रबन्ध, पहिलो घेरामा नेपाली सेनाको कमान्ड

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल नै स्वागतका लागि जाने निधो गरिएको कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा घेराको कमान्ड नेपाली सेनाले गर्ने भएको छ।

राजा अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार साँझ ५ बजेर ३५ मिनेटमा विमानस्थलमा उत्रिनेछन्। 

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई क श्रेणीको सुरक्षा दिइएको हो। यसअघि यस्तो सुरक्षा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइएको थियो। 

विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पाश्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ। यसबाहेक नेपाल प्रहरीका उच्च अधिकारीसहितको सुरक्षा टोली र सशस्त्र प्रहरी अनि राष्ट्रिय अनुसन्धान विभागका अधिकारी खटाइने छ। 

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ। 

सेनाले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देलको नेतृत्वमा एकीकृत सुरक्षा समन्वय समिति समेत गठन गरेको छ। सिग्देल नेतृत्वको समितिको मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको उपसमिति समेत गठन गरिएको छ।

नेपालस्थित कतारको राजदूतावासले पनि छुट्टै सुरक्षा टोली परिचालन गर्ने तय भएको छ। 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार