काठमाडौंको होली: ट्राफिक नियम उल्लंघन गर्ने ६४९ मोटरसाइकल चालक कारबाहीमा

आइतबार, चैत ११, २०८०

काठमाडौं - होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ जारी छ । काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको चलिरहेको हो ।

आइतबार अपराह्न ४ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ६६४ सवारी चालकलाई कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जसमा मोटरसाइकल ६४९ वटा छन् । चार पांङ्गे सवारी १५ वटा कारबाहीमा परेका छन् ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिएको छ ।

उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।

यसै गरी विभिन्न ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको छ । होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पाेइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लघंन गरी तीव्र गतिमा सवारी हाक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्