सुन तस्करी अनुसन्धान आयेगको प्रतिवेदनको नालीबेली 

पूर्वगृहमन्त्रीदेखि सीआईबी प्रमुखसम्म ‘सस्पेक्ट’, यी हुन् कारबाही सिफारिसमा परेका व्यक्तिहरू

शुक्रबार, चैत २, २०८०

काठमाडौं– सुन तस्करी, अवैध पैठारीबारेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरादेखि अनुसन्धान गरेको सीआईबी प्रमुख किरण बज्राचार्यसम्मलाई कारबाहीका लागि सिफारिस गरेको छ। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई विहीबार बुझाइएको प्रतिवेदनमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरूदेखि सह–सचिव, एसपी, डीएसपीहरूलगायतलाई कारबाहीको सिफारिस गरेको हो। 

उक्त प्रतिवेदन लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। ४ सय ८५ पृष्ठ लामो सो प्रतिवेदन ६८ जना व्यक्तिसँग बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा तयार पारिएको थियो। 

डिल्लीराज आचार्य संयोजक, पूर्वएआईजी सहकुल थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोगले सुन काण्डमा संलग्न देखिएका जीवन चलाउनेलाई कागज गरेर छाडी अनुसन्धानमा त्रुटी गरेको भनी एआईजी बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस गरेको छ। 

यस्तै तस्करीका नाइके दावा लामाले अमेरिकामा सुबु केसीका नाममा रकम जम्मा गरेको पाएको छ। आयोगले केसीलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ।

६० किलो र भेपमार्फत भएको सुन तस्करीका बिषयमा छानबिन गरेको आयोगले सहसचिव झलकराम अधिकारीलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ। अधिकारीको तस्कर समूहका नाइकेसँग संवाद फेला परेको जनाइएको छ।  

प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सिडिआर÷डिएफएलमा लगातार देखिएका व्यक्तिको सूचीसमेत समावेश गरिएको छ।

प्रहरीले ध्यान नदिएका २१ जनालाई पक्राउ गरी कारबाहीका लागि सिफासि गरिएको छ। 

आयोगको प्रतिवेदनमा तस्करीमा महरासहित राहुल महरा, नन्दबहादुर पुन र उनको परिवारका सदस्यहरू जितेन्द्र पुन, दीपेश पुन, वर्षमान पुनका भाइ प्रनिश पुन, कालीबहादुर खाम, अमला रोकाको संलग्नता रहेकाले कारबाहीका लागि सिफारिस गरिएको छ। राहुल अहिले हिरासतमा छन्।
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्