बैंकिङ क्षेत्र

बैंकहरु सुरक्षित छन्, ऋण असुलीमा समस्या देखियो : गभर्नर अधिकारी

आइतबार, फागुन २०, २०८०

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु सुरक्षित रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंकहरुलाई राष्ट्र बैंकले मोनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरु सुरक्षित रहेको बताएका हुन् ।

उनले नेपालका बैंकहरुको अवस्थालाई हेरेर नै बिदेशी बैंकहरुले नेपाललाई विश्वास गरिरहेको धारणा राखे । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरु बजारमा चलाइएकाले ऋण असुलीमा केहि समस्या देखिएको जिकिर गरे ।

अराजक गतिविधिले बैंकिङ क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै उनले अराजकतालाई रोक्न नसके सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था नरहने बताए । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउन धाराप्रवाह रुपमा आक्रमण भइरहेको भन्दै यसलाइ राज्यले नियन्त्रण गर्नुपर्ने उल्लेख गरे । 

गभर्नर अधिकारीले अहिले बैंकसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको र खराव कर्जा ३ दशमल ४० प्रतिशत पुगेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्