पसगाउँ महोत्सव

फागुन १९ र २० गते पसगाउँ महोत्सव हुने

शुक्रबार, फागुन ११, २०८०

लमजुङ – लमजुङको क्व्होलासोंथार गाउँपालिका– ६ को पसगाउँमा फागुन १९ र २० गते १४ औं पसगाउँ महोत्सव हुने भएको छ । पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले फागुन १९ र २० गते महोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।


ग्रामीण पर्यटनको विस्तार गर्ने उद्देश्यले ०६० वैशाख १६ र १७ गते आयोजना भएको पहिलो महोत्सव निरन्तर चल्दै आएको छ । लोकसंस्कृति तथा स्थानीय हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमू (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो । लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको समितिले जनाएको छ । गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र सम्वद्र्धन गर्दै न्युन आय भएका नागरिकको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उद्देश्यका साथ महोत्सव आयोजना गन लागिएको पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संम्र्वद्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए । महोत्सव मार्फत पसगाउँको मौलिक संस्कृति कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटुजस्ता लोपोन्मुख नृत्यहरुको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने वडा अध्यक्ष मनलाल गुरुङले बताए ।


सिल्दु पूजा, छेदुपु पूजा, क्व्होम्रे पूजा, भवानी पूजालगायत विशिष्ट परम्परागत रीतिरिवाज रहेको पसगाउँ पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको प्राकृतिक शिवलिंग, भौं भौं ह्राब (बजाउने ढुंगा), सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्व्होम्रे डाँडासहित ४ वटा प्रशिद्ध डाँडाहरु रहेको वडा अध्यक्ष गुरुङले बताए । लमजुङ सदरमुकाम बेंसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार