वाग्मा पोखरी

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

शनिबार, फागुन ५, २०८०

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ ।

धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बराबरको क्षेत्रफलमा फैलिएको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बीचमा एकान्त वातावरण रहेकाले पोखरीको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने स्थानीय बताउँछन् ।

निकै सुन्दर र आकर्षक देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवद्र्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ ।

पोखरीको प्रवद्र्धन र प्रचारप्रसार गर्नसकेमा पर्यटकको धेरै उपस्थितिको सम्भावना रहेको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताए । थापाका अनुसार मिक्वाखोला–४ साँवामा स्थापित पर्यटकीय गन्तव्य फुङ्फुङगे झरना, वडा–५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै वाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

गाउँपालिकाका अध्यक्ष कार्कीले पर्यटकीय शृङ्खलाअन्तर्गत तोक्पेगोला लोदेन क्षेत्र, फुङ्फुङगे झरना र वाग्मा पोखरीलाई जोड्न सकिने भए पनि विकास र प्रवद्र्धन हुन नसकेको बताए ।

गाउँपालिकाले आफ्नो नीति कार्यक्रममार्फत यस पोखरीलाई समावेश गरी मिक्वाखोलालाई पर्यटकीय हवका रुपमा विकास गर्नेगरी योजना बनाइरहेको उनले बताए । गाउँपालिकाले पर्यटन प्रवद्र्धनका योजना बनाइरहँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या रहेको उनको भनाइ थियो ।

वाग्मा पोखरीसहितका पर्यटकीयस्थलको विकासका लागि सङ्घ र प्रदेश सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आइएको स्वकीय सचिव थापाले जानकारी दिए । उनका अनुसार पोखरी पुग्ने पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सडक पु¥याउनुपर्ने र अन्य संरचना तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ ।

आवश्यक संरक्षण, प्रचारप्रसारसँगै पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्नका लागि पूर्वाधारको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि ओझेल परेको थापाले बताए । उनका अनुसार पालिकाले यस विषयमा आवश्यक पहल र समन्वय गरिरहे पनि सोचेअनुसार प्रगति नभएको बताए ।

जिल्लाको एक पर्यटकीयस्थलका रुपमा रहेको वाग्मा पोखरी पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि दोभान सान्थाक्रा तथा खोक्लिङ लिवाङ हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ र थलङ, साँवा सिरान हुँदै जान सकिन्छ । त्यस्तै फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवा बजार, खेजेनिम, सिबुक हुँदै पनि वाग्मा पोखरी पुगिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्