बीमा र अनुदानले स्याउ किसान लाभान्वित 

आइतबार, माघ २८, २०८०

मुगु– सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  ।

समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकताभन्दा बढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो । छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँ पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भए पनि किसानले बीमाबापतको रकम भुक्तानी पाएपछि राहत महसुस गरेका हुन्  ।

पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको छ । स्याउ फुल्ने समयमा छाँयानाथ रारा नगरपालिकाभित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमाथलगायत विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका छन् । बीमा गराउनेमा उक्त क्षेत्रका पाँच सय ४७  किसान रहेका तथ्याङ्क छ ।

छाँयानाथ रारा नगरपालिका– ६ का गोविन्द बमले एक सय ६० बोट स्याउको बीमा समय मै गराएको बताए । स्याउ उत्पादन नभए पनि बीमाबापत रकम पाएपछि  खुसी लागेको उनले बताए । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको थियो ।

यस्तै, पाँच हजार वर्ग क्षेत्रफलभित्र दुई सय भन्दा बढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छाँयानाथ रारा नगरपालिका ४ का जयलक्ष्मी भामले आफ्नो  बगानमा लगाइएका स्याउबाट उत्पादन नभएको गुनासो गरे । असिना पानी र बेमौसमी वर्षाले स्याउ उत्पादन निकै घटेको थियो भन्दै उनले गत वर्ष चौततिर आठ हजार पाँच सय तिरेर एक सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाएका थिए । 

भामले बीमा बापत रु ४० हजार चार सय  बीमा कम्पनीबाट पाइएको जानकारी दिए । समयमै बीमा गर्दा उत्पादन नभए पनि किसानलाई बीमाले निकै राहत दिएकाले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उनले बताए । भामले भने, “हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ । गतवर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिएँ  तर उत्पादन शून्य नै भयो । केही आम्दानी गर्न सकेनौँ । बीमाले राहत भयो । यो वर्ष पनि बीमा गराउने तयारीमा छु ।”

जिल्लाको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालका किसानले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गर्दै आएका छन् । गत वर्षको बेमौसमी वर्षाले गर्दा कसैको बोटमा स्याउको दानै फलेन भने स्याउ फलेकाको पनि ४० प्रतिशत उत्पादनमा गिरावट आएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड जिल्ला शाखा प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

उनका अनुसार सोही आधारमा जिल्लाका पाँच सय ४७  किसानले लगाएका ९० हजार भन्दा बढी स्याउका बोटको बीमा गराएबापत बिमितलाई रु एक करोड ८० लाख भन्दा बढी रकम भुक्तानी गरिसकिएको छ । “रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको बीमा गराएका थियौँ । यस वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिसकेका छौँ,’ प्रमुख भण्डारीले भने ।

स्याउखेती बीमाअन्तर्गत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ । बीमाको अवधि एकवर्ष हुन्छ किसानले आफ्नो स्याउका बोटको बीमा अवधि सकिएपछि पुनः बीमा गर्नुपर्ने हुन्छ । सरकारले बीमामा अनुदान दिँदा विभिन्न प्राकृतिक विपत्ले स्याउ उत्पादनमा गिरावट आएकाले  निराश भएका किसान यो व्यवसाय नै छोड्नुपर्ने अवस्थामा पुगेकामा बीमाले  पुनर्जिवन दिएकोजस्तो अनुभूति गर्दै आएका छन् । –रासस

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्