
ईश्वर दुलाल
पथरी। नेपाल एक कृषि प्रधान देश हो । यहाँको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनशैली खेतीपातीमा आधारित छ । नेपालको कुल श्रमशक्तिमध्ये अधिकांश जनसंख्या कृषि पेशामा संलग्न छ भने देशको ठूलो भूभाग अझै पनि कृषियोग्य भूमिमा भर पर्दछ । यस्तो सन्दर्भमा कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित पथरीशनिश्चरे नगरपालिका पनि कृषि र कृषकको जीवनशैलीले परिचालित एक प्रमुख नगर बनिरहेको छ ।
नेपाल सरकारले वि.सं. २०७१ मा तत्कालीन पथरी र शनिश्चरे गा.वि.स.लाई गाभेर पथरीशनिश्चरे नगरपालिका गठन गरेको थियो । पछि वि.सं. २०७३ मा साबिक हसन्दह गा.वि.स.लाई पनि समावेश गरी हालको पथरीशनिश्चरे नगरपालिकाको निर्माण भएको हो ।
जनगणना २०७८ अनुसार ७२ हजारभन्दा बढी जनसंख्या रहेको यस नगरपालिकामा कृषकहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । यहाँको समाज, संस्कार, र जीविकोपार्जनमा खेतीपातीको स्थान अहंकारपूर्ण छ । यस लेखमा पथरीशनिश्चरेका कृषकहरूको अवस्था, कृषि प्रणाली, सरकारी नीतिहरू र भविष्यको सम्भावनाबारे विस्तृत रूपमा चर्चा गरिएको छ ।
पथरीशनिश्चरेको भौगोलिक र सामाजिक अवस्थाः
पथरीशनिश्चरे नगरपालिका पूर्वमा उर्लाबारी नगरपालिका, पश्चिममा कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिकाबीच अवस्थित छ । यो नगरपालिका पूर्व–पश्चिम राजमार्गसँग प्रत्यक्ष जोडिएकाले आर्थिक गतिविधि, पहुँच र बजारको दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो ।
७९.८१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा करिब ९ हजार ५ सय ९८ हेक्टर भूमि कृषियोग्य रहेको छ । ८५ प्रतिशत जमिनमा कृषिकर्म हुँदै आएको छ भने बाँकी १५ प्रतिशत क्षेत्रमा अन्य कार्यहरू जस्तै बस्ती, सडक, उद्योग आदि विस्तार भएका छन् । यहाँ १६ हजार ६ सय २१ घरधुरी र १७ हजार ९ सय ८० परिवार छन् । जातीय र भाषिक विविधताले समृद्ध यो नगरपालिकामा ४७ जातजाति र ३३ भाषाभाषी समुदाय बसोबास गर्छन ।
पथरीशनिश्चरेमा जनजीवन मुख्यतः कृषिमा निर्भर छ । यहाँका अधिकांश परिवारको जीविकोपार्जन खेती, पशुपालन, तरकारी उत्पादन र कृषिजन्य व्यावसायबाट हुने गरेको छ । धान, मकै, गहुँ, तरकारी, फलफूल, ड्रागन फ्रुट जस्ता बालीहरू मुख्य उत्पादन हुन् ।
पारम्परिक खेती प्रणाली लामो समयदेखि यहाँ चल्दै आएको भए तापनि पछिल्लो दशकमा कृषि प्रणालीमा उल्लेख्य सुधार देखिएको छ । प्लास्टिक टनेल प्रविधि, ड्रिप सिँचाइ, जैविक मल प्रयोग, सुलभ यान्त्रिक साधनहरू प्रयोग गर्दै कृषकहरू आधुनिकीकरणको दिशातर्फ अघि बढिरहेका छन् ।
स्थानीय तह निर्माण अगाडि सम्म यहाँको खेती प्रणाली परम्परागत, वर्षामा भर पर्ने, जनश्रम आधारित र न्यून उत्पादनमुखी रहँदै आएको थियो । तर स्थानीय सरकारको संरचना निर्माणसँगै कृषिमा प्रविधि प्रयोग, अनुदान, तालिम, यन्त्र प्रयोग र समूहिक सहकार्यका माध्यमबाट उल्लेख्य सुधार देखिएको छ ।
आज कृषकहरू प्लास्टिक टनेल, मलखाद व्यवस्थापन, तरकारी खेतीमा बिउ छनोट, यान्त्रिक सिँचाइ, स्प्रे ट्याङ्की, साना ट्र्याक्टर, मकै रोप्ने र छोड्याउने मेशिन आदिको प्रयोग गरेर कृषी पेसालाई आधुनी गतिबाट संचालन गरिरहेका छन् ।
यसले उत्पादनमा वृद्धि मात्र हैन, कृषकको जीवनस्तरमा समेत परिवर्तन ल्याएको छ ।
कृषकका प्रयास र आत्मनिर्भरता
कृषकहरू अहिले व्यावसायिक सोचका साथ कृषि पेसामा उत्रिएका छन् । उनीहरू कुखुरा पालन, बाख्रा पालन, मौरीपालन, दुग्ध उत्पादन, तरकारी खेती र फलफूल खेती जस्ता विविध आयमुखी कार्यमा जुटेका छन् । यसले कृषकको आत्मनिर्भरता बढाएको छ ।
विशेषगरी महिला कृषकहरूको सहभागिता उल्लेखनीय छ । धेरैजसो समूह, सहकारी तथा प्रशिक्षणहरूमा महिला नेतृत्व हाबी देखिन्छ, जसले सामाजिक सशक्तिकरणमा समेत योगदान पुर्याएको छ ।
नगरपालिकाका पहल र नीतिहरू
पथरीशनिश्चरे नगरपालिकाले कृषकको हितमा विभिन्न कार्यक्रम र योजना अघि सारेको छ । नगरप्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देविमाया काफ्लेको नेतृत्वमा कृषकहरूलाई आत्मनिर्भर बनाउन र कृषि व्यवसायलाई व्यवस्थित गर्न विविध योजनाहरू सञ्चालन गरिएका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा जैविक मल, स्प्रे ट्याङ्कीमा ७५% अनुदान, हाते ट्र्याक्टर, आलु बिउ, मकै रोप्ने मेशिनमा ५०% अनुदान, सामूहिक खेतीमा मौरी पालन, मकै खेतीका लागि बीउ तथा उपकरणमा ५०% अनुदान, जैविक सूक्ष्म खाद्यतत्वमा ७५% अनुदान, कृषी चुन, माटो परीक्षण शिविर, बाली विमा अभिमुखीकरण कार्यक्रम, कौसी खेती प्रोत्साहन कार्यक्रम ५०% अनुदान, विउ भण्डारण, ढुवानीका लागि सहकारीहरूलाई सहयोग, धान, मकै, गहुँको बिउमा ५०% अनुदान तथा हिउँदे मकै खेतीमा प्रतिकठ्ठा ५ सय रुपैयाँ अनुदान, नगरको एकमात्र बाली विज्ञान वठनपाठन हुने भागिरथ मावीमा कृषिका लागि ग्रीनहाउस निर्माण गरि कृषि प्रणालीलाई दिगो बनाउने प्रयास गरिँदैछ ।
कृषकको उत्पादनलाई बजारसम्म पु–याउन नगरपालिकाले पथरीशनिश्चरे–५ स्थित भोटेघुम्तीमा कृषि टहरा निर्माण गरिरहेको छ । यसले स्थानीय कृषकको उत्पादनलाई सस्तोमा बिक्री गर्ने, बीउ बीजन, मलखाद सजिलोसँग उपलब्ध गराउने र बजार व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ ।
सोहि बिषमा रहेर कृषि शाखा प्रमुख सबिना राईसँग गरिएको कुराकानीः

पथरीशनिश्चरे नगरपालिकामा कृषिको अवस्था कस्तो छ भन्ने चासो धेरैको छ । कृपया अहिलेको समग्र अवस्था कस्तो रहेको छ ?
– पथरीशनिश्चरे नगरपालिका कृषिमा आधारित नगरपालिका हो । यहाँको झण्डै ८५ प्रतिशत जमिन खेतीयोग्य छ, जसमा अधिकांश जनता कृषि पेशामै आश्रित छन् । पछिल्लो केही वर्षमा कृषकहरू प्रविधिमैत्री र व्यवसायिक बन्न थालेका छन् । यसले कृषिमा आत्मनिर्भरताको संकेत देखिएको छ ।
कृषकहरूको जीवनस्तर र प्रविधिको प्रयोगमा के परिवर्तन देख्नुभएको छ ?
– सुरुमा कृषकहरू परम्परागत शैलीमा खेती गर्थे – सिँचाइ, मलखाद, बीउ सबै कुरामा अभाव थियो । अहिले भने यान्त्रिक उपकरणको प्रयोग, प्लास्टिक टनेल, सिँचाइ सुधार, जैविक मल प्रयोग आदि विस्तार भएको छ । खासगरी महिला कृषकहरू सक्रिय र सहकारीमा समावेश हुँदैछन्, जुन सकारात्मक संकेत हो ।
नगरपालिकाले कृषकको सहयोगका लागि के–के कार्यक्रम ल्याएको छ ?
– हामीले चालु आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरेका छौं । साथै उत्कृष्ट कृषक सम्मान कार्यक्रमको पनि थालनी गरेका छौँ । अनुदानका कृयाकलापहरु पनि भएका छन् । बाली बीमा अभिमुखीकरण, माटो परीक्षण शिविर, कृषि चुन वितरणजस्ता कार्यक्रम पनि चलिरहेका छन् । यस्तै, सहकारीमार्फत बीउ भण्डारण, मौरी पालन, तरकारी खेतीजस्ता सामूहिक योजनाहरूमा पनि हामीले ५० प्रतिशत अनुदान दिइरहेका छौं ।
कृषिलाई बजारसम्म ल्याउने संरचना कत्तिको व्यवस्थित भइरहेको छ ?
–बजार व्यवस्थापन पनि हाम्रो प्राथमिकतामा पर्छ। अहिले हामीले पथरीशनिश्चरे–५ भोटेघुम्तीमा कृषि टहरा निर्माण गरिरहेका छौं । यसले कृषकको उत्पादन सिधा उपभोक्तासम्म पु¥याउने वातावरण बनाउनेछ । भविष्यमा ‘कृषि सडक सञ्जाल’ विस्तार गर्ने योजनामा पनि छौं ।
नगरपालिकाको शिक्षा संस्थामा कृषिको प्रयोगात्मक पक्षमा पनि केही गरिएको छ ?
– अवश्य। हामीले भागिरथी माविमा ग्रीनहाउस र प्लास्टिक टनेल स्थापना गरिदिएका छौं ताकि कृषि विज्ञान पढ्ने विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान मिलोस् । यो शिक्षालाई व्यवहारसँग जोड्ने हाम्रो अभियान हो ।
अन्त्यमा, पथरीशनिश्चरेलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन तपाईँको दृष्टिकोण के छ ?
– हाम्रो लक्ष्य कृषकलाई आत्मनिर्भर बनाउनु हो । हामी प्राविधिक सहयोग, तालिम, अनुदान, सहकारी समन्वय, बजार सुविधा, शिक्षा र आधुनिक प्रविधिलाई जोड दिंदै अघि बढिरहेका छौं । सबै तहको सहकार्य भएमा पथरीशनिश्चरे निकट भविष्यमै पूर्वी नेपालको कृषि हब बन्न सक्छ । यो सम्भावना अब सपना होइन, तयारीको विषय हो ।
उत्कृष्ट कृषक सम्मान
पथरीशनिश्चरे नगरपालिकाले चालु आर्थिक वर्ष देखि उत्कृष्ट कृषकलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढाएको छ । यस वर्ष देखि सुरुवात गरिएको सो कार्यक्रम अन्तर्गत तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरेलाई सम्मान गरिएको थियो । सम्मानित तिनै जनालाई नगद रु. ५० हजार, प्रमाण–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिका कृषि सम्भावनाले भरिएको क्षेत्र हो । यहाँ कृषकको परिश्रम, स्थानीय सरकारको सक्रियता र प्राविधिक सहयोगको त्रिकोणात्मक मेलले कृषि पेसालाई व्यवसायिक, आधुनिक र दिगो बनाउने आधार तयार हुँदैछ ।
कृषकहरू आत्मनिर्भर बन्न थालेका छन्, महिलाहरूको संलग्नता बढ्दो छ, सहकारी प्रणाली बलियो बन्दैछ, र नगरपालिकाले कृषि प्रणालीलाई योजनाबद्ध तरिकाले अघि बढाइरहेको छ ।
यदि यस्तै गतिमा सुधार भइरह्यो भने निकट भविष्यमा पथरीशनिश्चरे नगरपालिका पूर्वी नेपालकै नमुना कृषि नगर बन्ने सम्भावना अत्यन्त प्रवल देखिन्छ ।