नेभिगेशन
उद्यम

३६ वर्षीय अक्षय गोल्यान फेरि पनि सीआईपीमा सम्मानित

काठमाडौं - युवा उद्यमी व्यवसायीतर्फ सबैभन्दा धेरै निर्यात गर्नेमा रिलायन्स स्पिनिङ मिलका प्रवन्ध निर्देशक अक्षय गोल्यानलाई सम्मान गरेको छ । 

३६ वर्षीय गोल्यानले युवा उद्यमी व्यवसायीतर्फ सबैभन्दा धेरै निर्यात गरेको केन्द्रले जनाएको हो । ५६ वर्षको विरासत बोकेको गोल्यान ग्रुपलाई तेस्रो पुस्ताका अक्षयले हाँकिरहेका छन् । उनले छोटो समयमै यस ग्रुपलाई महत्वपूर्ण उपाधिहरूबाट सम्मानित गराउन सफल भएका छन् । साथै उनी पनि पटक पटक राज्यबाट सम्मानित भएका छन् ।

विगत १२ वर्षभन्दा लामो समयदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका अक्षयले विभिन्न कम्पनीहरूलाई नेतृत्व गरिरहेका छन् । अक्षयले कृषि, होटल, ऊर्जा, उत्पादन (म्यानुफ्याक्चरिङ) लगायतका विभिन्न उद्योगहरूमा नेतृत्व सम्हाल्दै आएका छन् । उनले रिलायन्स स्पिनिङ मिल्स, गोल्यान पावर, गोल्यान होटल्स, हायात सेन्ट्रिक काठमाडौं लगायतको नेतृत्व गर्दै आइरहेका छन् ।

साथै प्योर इनर्जीको अध्यक्षको भूमिकामा समेत रहेका अक्षय जैविक र प्राकृतिक उत्पादनहरू उपलब्ध गराउने माटोमा निर्देशकको भूमिकामा छन्  ।  

निर्यात प्रवद्र्धनका लागि अत्यावश्यक क्षेत्र उत्पादन भएको बुझाई राख्ने अक्षयले यस क्षेत्रलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । जसबाट उनले व्यवसायलाई मात्र अगाडि बढाएका छैनन् निर्यात प्रवर्धन र अर्थतन्त्रको विकासमा टेवा समेत दिएका छन्।  
 

रोजगारीमा योगदान

आन्तरिक तथा अन्तर्रा२ष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट रोजगारदाता समेत हो । यस उद्योगमा ४ हजार भन्दा बढीले रोजगारी पाइरहेका छन्  । 

उद्योगले स्थापना कालदेखि नै स्वदेशी जनशक्तिको प्रयोगमा जोड दिँदै आएको छ । उद्योगले स्थापनाकालमै नेपाली नागरिकहरुलाई सिपको तालिमसँगै रोजगारी पनि दिएको थियो । एकै पटक २५ सय भन्दा बढी कामदार राखेर सुरु गरेको यस उद्योगमा अधिकांश कामदार नेपाली छन् ।

सीमा नजिक भएका उद्योगहरूमा भारतबाट दक्ष जनशक्ति ल्याएर रोजगारी दिने प्रवृत्ति रहेकोमा रिलायन्सले भने स्थानीय जनशक्तिलाई नै तालिम दिएर रोजगारी दिलाउने गरेको छ ।

अक्षयले गोल्यान ग्रुप र रिलायन्स स्पिनिङ मिल्स भर्खर भर्खर सम्हाल्दै गर्दा उत्कृष्ट रोजगारदाताको रुपमा सीआईपी अवार्डबाट सम्मानित भएका थिए । सो समयमा रिलायन्सलाई पनि अवार्ड दिइएको थियो ।

पछिल्लो समय नेपालबाट रोजगारीका लागि विदेशीनेको संख्या बढ्दो क्रममा छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४  छ ।

यसरी दैनिकजसो हजारौं विदेशीने अवस्था रहेको समयमा रिलायन्सले भने यति धेरै जनशक्तिलाई नेपालभित्रै प्रत्यक्ष रोजगारीको वातावरण दिइरहेको छ।

यसबाट ४ हजार मात्र नभई उनीहरूको परिवार र समग्र अर्थतन्त्रलाई नै रिलायन्सको ठूलो योगदान दिइरहेको छ । यति धेरै जनशक्ति भएको यस उद्योगमा कहिल्यै कर्मचारीहरूका तर्फबाट सामान्य आन्दोलन देखि बन्द हड्तालसम्म भएको छैन ।

माओवादीको शसस्त्र द्धन्द्ध होस वा २०६२/६३ को कालखण्ड कुनै पनि समयमा रिलायन्समा मजदुरहरुले कहिल्यै आन्दोलन गरेको रेकर्ड छैन । यस्तै कामको चाप पर्दा उद्योगलाई दिनमा तीन सिफ्टसम्म चलाइएको छ ।  

निर्यातमा योगदान
रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०-८१ मा मात्रै १२ अर्ब ४९ करोड रुपैयाँको निर्यात गरेको छ । गत आवमा कुल वस्तु निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा रिलायन्सले मात्रै १२ अर्ब भन्दा बढीको निर्यात गरेको हो ।  

गत आवमा १५ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएकोमा निर्यातलाई बढाउनमा रिलायन्सले ठूलो योगदान पुर्‍याएको छ । ३६ वर्षीय युवा उद्यमीको नेतृत्वमा रहेको यस उद्योगले विभिन्न कठीनाईका बावजुदका बीच पनि उत्कृष्ट उत्पादन र बिक्री वितरणमार्फत राज्यलाई सहयोग गर्दै आइरहेको छ ।  

क्षमता विस्तारमा फड्को

यसबीचमा अक्षयको नेतृत्वमा रिलायन्सको क्षमता विस्तार पनि निकै नै अगाडि बढेको छ । उद्योगले ६ वर्षको अवधिमा ३९.३ प्रतिशत प्रतिशत उत्पादन क्षमता विस्तार गरिसकेको छ ।

आव २०७६-७७ मा उद्योगको ३० हजार मेट्रिक टन उत्पादन क्षमता रहेकोमा आव २०८१-८२ मा ५० हजार १६३ मेट्रिक टन उत्पादन क्षमता पुगेको छ  । साथै सोलार प्लान्ट समेत जोडेको छ। 

रिलायन्सको नेतृत्व लिँदै गर्दा अक्षयले २ वटा अटोमेटिक मेसिनसहित उद्योग विस्तारको योजना ल्याएका थिए ।

२० वर्ष पूरानो मेसिनहरूबाट म्यानुअल रुपमा काम गर्ने अवस्था रहेकोमा पछि  नयाँ मेसिन र नयाँ प्रविधि ल्याइएको थियो । सो समयमा पनि २० औं वर्षदेखि काम गर्दै आएका जनशक्तिलाई सहज हुने गरी तालिम दिएर नयाँ प्रविधिमा आत्मसाथ गराउने काम पनि अक्षयकै नेतृत्वमा भएको हो ।

कम्पनीले उत्पादन क्षमता विस्तार गरेसँगै उत्पादन पनि बढाउँदै लगेको छ । पाँच वर्षको अवधिमा कम्पनीले उत्पादनमा पनि ३८.१ प्रतिशतको वृद्धि गरेको छ । आव २०७६-७७ मा २२ हजार ४०४ मेट्रिक टन उत्पादन गरेकोमाआव २०८०-८१ मा ३० हजार ९३१ मेट्रिक टन उत्पादन भएको छ ।
 
‘सन् २०१८ देखि रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड को नेतृत्व गर्नु मेरो जीवनकै सबैभन्दा गर्वको क्षण हो,’ सम्मानित भएपछि गोल्यानले भने,’बितेका यी सात वर्षमा हामीले केवल दैनिक उत्पादन दोब्बर मात्र गरेका छैनौँ, हामीले अपेक्षाभन्दा धेरै माथि पुगेर प्रमाणित गर्यौँ कि एउटै स्पष्ट र सशक्त लक्ष्यसहित अगाडि बढ्ने टिमले असम्भवलाई सम्भव बनाउन सक्छ।’ उनले
जनशक्तिको लगनशीलता र प्रतिबद्धता नै उद्योगको सफलताको साँचो आधार भएको बताए।
‘हामी कम्पनी मात्र निर्माण गरिरहेका छैनौँ, हामी राष्ट्रको प्रगतिको इँटा थपिरहेका छौँ।’ उनले भने ।

उनले सीआईपी केवल सम्मान नभइ सामूहिक शक्तिको प्रतीक भएको बताए। उनले थपे,’ हामी एक भएर उभिँदा के कति गर्न सक्छौँ भन्ने प्रमाण पनि हो।’

 के छ सीआईपी अवार्डको महत्व ?
नेपालको व्यवसायिक र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने, तेस्रो मुलुकमा निकासी, भारत तथा चीन जस्ता देशमा भएको नियार्तलगायतका मापदण्डमा तोकिएका आधारमा सीआईपीहरु छानिन्छ र अवार्ड दिइन्छ ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआईपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइने गरिन्छ ।

यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउँछन् । उनीहरुका लागि सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उद्यम