Nic Ad Nic Ad
Nic Ad Nic Ad

हत्या अभियुक्त पञ्चाले दिइनन् अझै राजीनामा, अदालतबाट अर्को पक्राउ पुर्जी जारी भयो

मंगलबार, माघ ९, २०८०

काठमाडौं– अदालतले दोस्रो पटक पक्राउ पुर्जी जारी गर्दा समेत माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नैतिकताका आधारमा राजीनामा दिएकी छैनन्। 

शक्ति केन्द्रको आडमा बच्दै आएकी उनलाई १५ बर्षअघि भएको हत्याको अभियुक्त मानिएको छ। र, सोही कारण अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

२६ फागुन २०६५ मा कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरिसकेको छ।  यसअघि ०७९ सालमा पनि पक्राउ पुर्जी जारी भएको थियो। 

सिंहसँगै  ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

गाउँमा आफूसँगै ६–७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएको भन्दै राजबहादुरले त्यसको विरोध गरेका कारण उनीमाथि खुकुरी प्रहार गरी हत्या गरिएको थियो। 

राजबहादुरको २०६५ फागुन २६ गते बेलुका बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

अहिले सरकारको नेतृत्व गरिरहेको तथा गृह मन्त्रालय पनि माओवादीकै रहेका कारण सिंहलाई प्रहरीले पक्राउ नगरेको आरोप पीडित पक्षको रहेको छ। सत्ताको आडमा सिंह जोगिएका कारण मृतकका बुवा नन्दबहादुर मल्ले न्याय नपाएको गुनासो गरेका छन्। 

सिंह माओवादीभित्र उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छिन्। उनलाई क्रान्तिकारीको अध्यक्ष बनाउन पनि जनार्दनकै पावर चलेको थियो।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्