जेलभित्र बमजन

जेलभित्र टिभीमा ‘रेस्लिङ’ हेर्छन् कथित लिटिल बुद्ध, जिमखानाको खोजी 

सोमबार, माघ १, २०८०

काठमाडौं– बाल यौन शोषणको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका कथित लिटिल बुद्ध रामबहादुर भनिने रामलाल बमजनले महोत्तरी जेलभित्र टिभीमा रेस्लिङ हेरेर समय बिताउने गरेका छन् । 

सादा खानाको डिमान्ड गरेका उनी अहिले आफैं पकाउँछन् भने ध्यान पनि गर्दै आएको जेल प्रशासनले जनाएको छ। उनले जेलभित्र जिमखानाको पनि खोजी गरेका थिए। तर, प्रशासनले त्यो माग पूरा गरेको छैन । 

‘उहाँ अहिले ध्यान गर्नुहुन्छ कि टिभीमा रेस्लिङ हेर्नुहुन्छ’, प्रशासन स्रोतले भन्यो । 

उनीमाथि २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेशकुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ ।

प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले पुस २४ गते पक्राउ गरी उनलाई सर्लाही जिल्ला अदालत पठाएको थियो। अदालतले पूर्पक्षका लागि महोत्तरी कारागार पठाएको थियो । सीआईबीले बुढानिलकण्ठस्थित बमजनको घरमा खानतलासी गर्दा सुविधायुक्त जिमखाना फेला पारेको थियो। त्यसबाहेक तीन करोड ४० लाखभन्दा बढी नेपाली र विदेशी मुद्राको थाक फेला पारेको थियो ।

‘उनीमाथि अन्य विषयमा पनि अनुसन्धान जारी छन्। रकमको स्रोतको खोजी पनि भइरहेको छ’, प्रहरी अधिकारी भन्छन्,‘उनको आश्रमबाट बेपत्ता भएका भनिएकाहरूको खोजीमा पनि हामी सक्रिय भइसकेका छौं ।’

१९ बर्षअघि बाराको जंगलमा बमजन ध्यान गरेको अवस्थामा फेला परेका थिए । सोही बेला उनको उक्त प्रकटीकरणलाई बुद्धको उदय भएको भन्दै लिटिल बुद्ध उपमा दिइयो। उनी देशविदेशभरी चर्चामा थिए । 

तर विस्तारै उनले अनुयायी, आनीलगायतमाथि गरेको अत्याचारको पर्दाफास मात्र भएन यौन शोषणदेखि बलात्कार गरेको आरोपको उजुरी प्रहरी कार्यालयमा पर्न थालेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्