अर्थतन्त्रमा सुधार

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक : राष्ट्र बैंक [प्रतिवेदनसहित]

बिहीबार, पुस २६, २०८०

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ । शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलल ९५ प्रतिशत छ । यस अवधिमा आयात तीन दशमलव चार, निर्यात छ दशमलव एक र कूल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई छ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव १ महिनाको वस्तु आयात र ११ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पाँच महिनामा नेपाल सरकारको खर्च चार खर्ब ५३ अर्ब र राजस्व परिचालन तीन अर्ब ६३ अर्ब ४३ करोड छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय चार दशमलव प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन चार दशमलव छ प्रतिशत अर्थात् दुई खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब १० अर्ब ६ करोडले बढेको छ । –रासस

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलब पाँच प्रतिशत छ ।

यस्ताे छ प्रतिवेदन–

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार