कथित लिटिल बुद्धविरुद्ध सीआईबी एक्शन 

किरणको विश्वासमा भण्डारीको टिमले सफल बनाएको ‘अप्रेशन ब्लु’ : नयाँ चिज आउनेवाला छ !

बिहीबार, पुस २६, २०८०

काठमाडौं– कोड वर्ड ‘अप्रेशन ब्लु’ पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी नायव उपरिक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली रामबहादुर भनिने रामलाल बमजनको बुढानिलकण्ठस्थित निवासमा घेरा हाल्न पुग्यो।

चार बर्षदेखि खोजीमा रहेका बमजन घरमा आएको पत्ता लगाउनका लागि सीआईबीले निरन्तर अनुसन्धान जारी राखेको थियो। खासगरी बमजन पत्नीको मोबाइलमा पनि प्रहरीको फोकस थियो। यसको कारण छ– बमजनबारे यसअघि पनि सीआईबीले निरन्तर अनुसन्धान जारी राखेको थियो। तर, विभिन्न आश्रममा जाँदा पनि केही फेला परेको थिएन, बमजन फेला पर्ने त कुरै भएन। 

चार जना बेपत्ता बनाएको, एक जनाको यौन शोषण गरेकोलगायतका अभियुक्त बमजन खोज्नैपर्ने विन्दुमा सीआईबीले काम गरिरहेको थियो। यहि क्रममा पत्नीसँग कुराकानी भएको चाल पाएपछि बमजन घर आएको पत्तो लाग्यो र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले डीएसपी भण्डारीलाई पक्राउका लागि अप्रेशन गर्न निर्देशन दिइन्।

बमजन भाग्ने दाउमा थिए। सो क्रममा घरको दोस्रो तल्लाबाट हाम फालेका थिए। तर, पूरा तयारीबीच पुगेको सीआईबीको टिमका सदस्यले उनलाई उम्कन दिएनन्। यति मात्र होइन, त्यसपछि बमजनबारेको अन्य अनुसन्धान पनि बलियोगरी सुरु भयो।

तपस्वीसमेत रहेका कारण बमजनलाई पक्राउ गरेर बुझाउनु मात्र पनि सीआईबीका लागि जोखिम थियो। त्यसैले अन्य अनुसन्धानका क्रममा तीन करोड ५ लाख नगद, ३४ लाख विदेशी मुद्रासहित मोबाइल, ल्यापटप र आईप्याड जफत गरिए। ति जफत गरिएको विभिन्न सामग्रीको क्लुका आधारमा नै अहिले थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ। 

थप अनुसन्धानको लागि सीआईबीको टोली विहीबार बमजनको घर समेत पुगेको छ। तर, परिवारका सदस्यले गेट लगाएर अनुसन्धानमा असहयोग गरेका छन्। प्रहरी जसरी पनि थप अनुसन्धान गर्न तत्पर छ।   

प्रत्येक अनुसन्धानमा समयको कमी हुन्छ। बितेका प्रत्येक घन्टामा प्रमाणहरू हराउँदै जान्छन्। तर, त्यसो हुन नदिनका लागि नै एआईजी बज्राचार्यको विश्वासमा डीएसपी भण्डारीले देखाएको एक्शनको परिणामअनुसार पक्राउ गरिए– कथित लिटिल बुद्ध तपस्वी बमजन। ‘अब थप अनुसन्धानमा पनि भण्डारीको टोली सक्रिय रहेको छ, थप केही चिज आउने क्रममा छ’, सीआईबीका एक अधिकारी भन्छन्।

सुन तस्करी प्रकरण, ललिता निवास प्रकरणको अनुसन्धानमा अब्बलता देखाएको सीआईबीको लिड गरिरहेकी एआईजी बज्राचार्य र त्यस कार्यालयमा सक्रिय रहेका अन्य अधिकारीलाई थाहा छ कि तथ्यबिना अनुसन्धान जटिल छ। तथ्यबिना आपराधिक अनुसन्धानको विज्ञान अनुमान लगाउने खेल मात्र हुने चाल पाएका कारण नै सबै सूचनाको पुष्टि गरेपछि बमजन पक्राउका लागि फिल्डमा खटाइएका थिए, डीएसपी भण्डारी। जुन पहिलो चरणमा सफल भइसकेको छ। 

‘अन्य चरणको छानबिनमा पनि सीआईबी सक्रिय रहेको छ। यसबाहेक अब नेपाल प्रहरीका अन्य युनिटले पनि बमजनलाई रेकीमा राखेर अनुसन्धानका अन्य पाटा सम्हाल्नेछ’, प्रहरीका उच्च अधिकारी भन्छन्,‘कानुनभन्दा माथि केही हुँदैन, कानुनभित्र पर्ने सबै छानबिन हुनेछन्।’
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्