टिप्पणी 

बमजनका भक्त त कोही रवि लामिछानेका अन्धभक्त, यीनै हुन् गणेशमानका जनता

बुधबार, पुस २५, २०८०

काठमाडौं– लौह् पुरुष गणेशमान सिंहले कुनै बेला जनताबारे टिप्पणी गरेका थिए– यीनिहरू भेडा हुन् । यसमा एक कदम अगाडि बढेर भन्नुपर्छ यीनिहरू थरि–थरिका भेडा हुन् । 

मानिस बेपत्ता बनाएको, बाल यौन दुराचार गरेकोलगायतका अनेक अभियोगमा पक्राउ गरिएका कथित लिटिल बुद्ध रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले पक्राउ गरेको छ। 

तर, बुधबार बिहानै तिनै भेडाहरू मध्यको एक हुल अनुयायीको नाममा सीआईबी कार्यालय नै घेर्न पुगे। उनीहरूको माग बमजनलाई रिहा गर्नु भन्ने थियो। 

अभियुक्तलाई रिहा गर्ने कि अनुसन्धान गरी अपराध प्रमाणित भए कानुनी कारबाही गर्ने? यसबारेमा कुनै अनुयायीसँग उत्तर छैन। बस्, बमजनको रिहाई अनिवार्य शर्त रे!

एउटा तपस्वीको भेषमा अपराधको अभियोगहरूको थुप्रो मात्र लागेको छैन, घरबाट अकुत रकम फेला परेको छ। यसको अनुसन्धान अनिवार्य हो भन्ने विषयबाट नागरिक चेत नहुनु भनेकै गणेशमान सिंहले भनेजस्तो भेडा प्रवृत्ती हो। 

भनिन्छ नि, जीन्दगीभरी भेडा बन्नु भन्दा एक दिनका लागि सिंह बनेर मर्नु जाति। 

नेपाली जनतामा त्यो गुणबारेको चेत अझै खुल्न सकेको छैन। एकातिर बमजनका अनुयायी छन् भने अर्कातिर रवि लामिछानेलगायत जस्ताका फ्यान छन्, गुडलकवाला। 

लामिछानेमाथि पनि अनेक आरोप र आशंकाको घेराबन्दी छ। यसमा कानुनी छानबिन र न्यायको विषयमा कोही बोल्नेवाला छैन। बरु, रविलाई निशर्त छानबिन रोक्नुपर्छ भन्ने छन्। 

यस्तै भेडा प्रवृत्तिका कारण अहिलेसम्म कतिपय विषय छानबिन हुन सकेको छैन । कोही कांग्रेस, एमाले, माओवादीलगायतका समर्थक, कोही अन्यका।

निरपेक्ष र कानुनी राज्यको वकालत कसैले गरेका छैनन्। यहाँसम्मकी प्रतिनिधि सभामा सहभागी भएका राम्रा मानिने रविको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि पनि यस विषयमा बोल्ने जमर्को गर्दैनन्। यसको अर्थ हो– उनीहरू पनि प्रकारान्तरका भेडा हुन्। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतका कार्यकर्ताको त कुरै नगरौं। उनीहरू जत्तिका भेडाको काफिला त कहाँ पाइन्छ र!

भेडा र ब्वाँसोलाई स्वतन्त्रताको परिभाषामा कहिले पनि सहमत गराउन सकिँदैन भनेझैं, प्रकारान्तरका गणेशमानका जनतालाई पनि बुझाउन कठिन छ। 

हिजो बन्दुक बोकेर हत्यालाई क्रान्ति, बलात्कारलाई क्रान्ति मान्नेहरू र आज सामाजिक सञ्जाललाई नै कानुन, न्यायालय र फैसला गर्नेहरूबीच भिन्नता छैन। न त फरकपन छ– बमजन जस्ताको समर्थकमा पनि।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्