गभर्नरकाे योग्यतामा प्रश्न

फेरि लफडामा तानिए गभर्नर अधिकारी, सर्वोच्चमा दर्ता भएको रिटमा के छ ?

बिहीबार, पुस १२, २०८०

काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फेरि लफडामा तानिएका छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि विवादमा तानिएका हुन् । 

अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गरी अधिकारी गभर्नर हुन योग्य नभएको दाबी गरेका छन् । 

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी यही शुक्रबारलाई तोकिएको छ । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ । गभर्नर अधिकारी चार्टर एकाउन्टेन्ट हुन्। रिटमा उक्त शैक्षिक योग्यता स्नातकोत्तर सो सरह नरहेको भनी दाबी गरिएको छ ।

रिटमा नियुक्ति बदरको माग पनि गरिएको छ । ०७६ चैत २४ मा सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो । सरकार परिवर्तनसँगै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग विवाद भएपछि अधिकारीलाई हटाइएको थियो ।

तर सर्वोच्चले फेरि उनलाई गभर्नर पदमा फर्काएको थियो । अधिकारी एमालेको खास मानिस भएको भनी ‘एम’ अधिकारीका सन्दर्भमा पनि विवाद उठेको थियो ।

यति मात्र होइन मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको बेला अधिकारीले श्रीलंकको बाटोमा मुलुक हिँडेको भनी बोलेका थिए । त्यसबेला अर्थतन्त्रलाई हतोत्साही पार्ने अभिव्यक्ति दिएको भनी अधिकारीको व्यापक आलोचना भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्