दोलखाको किसानलाई आत्मनिर्भर बनाइँदै

बिहीबार, मंसिर २८, २०८०

दोलखा–  दोलखाको मेलुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले किसानको आत्मनिर्भरतामा केन्द्रित रहेर कार्य गरिरहेको छ । 

विगत ११ वर्षदेखि कृषकसँग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलावा स्वरोजगारमूलक तालिम, बीउविजन वितरण, कृषि प्रविधि सहयोगलगायत कार्यक्रम सञ्चालन गर्दै आएको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलुङ दोलखाले यहाँका नागरिकको रोजगारीका लागि विभिन्न कार्य गरिरहेको १२औँ वार्षिक साधारणसभाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले उच्च प्राथामिकता दिएको उल्लेख गर्दै सहकारीको भूमिका प्रशंसनीय रहेको बताए ।

दोलखाको मेलुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकरले कृषि तथा पशुपालनको क्षेत्रलाई उत्पादनमूलक र रोजगारीमूलक बनाउने कुरामा पालिकाको पूर्ण सहयोग रहेको उल्लेख गर्दै किसानलाई पालिकाका तर्फबाट आवश्यक कृषि प्रविधि, प्राविधिक सहयोग र बीउविजन उपलब्ध गराउँदै आएको बताए ।

गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलुङका अध्यक्ष श्री राज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिले शुभकामना व्यक्त गरेका थिए । गाउँघर सानाकिसान कृषि सहकारीका प्रबन्धक भूपप्रसाद आँपागाईले सहकारी नागरिकको जीविकोपार्जन उकास्न केन्द्रित भएको बताए । 

विगत ११ वर्षदेखि दोलखाको मेलुङ, शैलुङ र तामाकोसी गाँउपालिका कार्यक्षत्र बनाई युवालाई स्वरोजगार, स्थानीय कृषि व्यवस्था परिर्वतन, उन्नत जातका पशुपालन तथा नश्ल सुधार गर्न तथा ग्रामीण अर्थ व्यवस्था परिर्वतन गर्न गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडले महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष श्रीराज पोखरेलले बताए ।

ग्रामीण क्षेत्रमा साना उद्योग, व्यवसाय र कृषि उत्पादनमा वृद्धि जस्ता कुरालाई प्राथमिकता दिँदै गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले १४ प्रतिशत ब्याजदरमा १२ लाखसम्म व्यावसायिक तथा लघुउद्यम कर्जा, नौ प्रतिशत ब्याजदरमा पाँच लाखसम्म पशु कर्जा, पाँच प्रतिशत ब्याजदरमा ५० हजारसम्म जीविकोपार्जन कर्जा, नौ प्रतिशत ब्याजदरमा दुई लाखसम्म तरकारी खेतीकर्जा, तीन प्रतिशत ब्याजदरमा पाँच लाखसम्म बागमती प्रदेश सहुलियत कर्जा, आठ प्रतिशत ब्याजदरमा दुई लाखसम्म युवा स्वरोजगार कर्जा, १० प्रतिशत ब्याजदरमा ५० लाखसम्म ग्रामीण स्वावलम्बन कर्जा र निर्ब्याजी ५० हजारसम्म उपचार खर्च कर्जा उपलब्ध गराउँदै आएको अध्यक्ष पोखरेलले बताए ।

सहकारीले गतवर्ष १८ सदस्यलाई इजरायलमा कृषिसम्बन्धी तालिमको लागि पठाएको र उनीहरु स्वरोजगारमा केन्द्रित भएको अध्यक्ष पोखरेलले बताए । –रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्