उल्कावर्षा उत्कर्षमा पुग्दै, नेपालबाट पनि खाली आँखाले देखिने

बुधबार, मंसिर २७, २०८०

काठमाडौँ– आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने 'जेमिनिड्स उल्कावर्षा' बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ ।

यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ ।

नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का देख्न सकिन्छ।संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई वर्षको "उत्कृष्ट "उल्कावर्षा भनेको छ ।

जेमिनिड्स उल्कावर्षा के हो?

प्रायः उल्कावर्षाको स्रोत धूमकेतु हुन्छ। तर उत्पत्तिको दृष्टिकोणले जेमिनिड्स उल्कावर्षा अलिक भिन्न छ । यो उल्कावर्षा '३२०० फेइअथन' नामक चट्टानी क्षुद्रग्रहले अन्तरिक्षमा छोडेको अवशेषबाट हुन्छ ।

धूमकेतु वा क्षुद्रग्रहको बाटोमा पृथ्वी पुग्दा उल्का निस्किन्छ । उल्का पृथ्वीको वायुमण्डलमा आइपुग्दा जल्छ र त्यसबाट आकाशमा उज्याला र हेर्दा सुन्दर देखिने रेखाहरू बन्छन् ।

आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्कावर्षालाई 'जेमिनिड्स' भनिएको हो । यूकेको ग्रिनिचस्थित रोयल अब्जर्भेटरीका अनुसार उल्का विभिन्न रङ्गका हुने भएकाले जेमिनिड्स अरूभन्दा भिन्न देखिन्छ ।

hundreds-of-falling-meteors_getty-1702471919.JPG

यो उल्कावर्षा किन रङ्गीन देखिन्छ?

उल्काको रङ्ग सेतो, पहेँलो, हरियो, रातो वा नीलो हुन्छ । जेमिनिड्स उल्कामा हुने सोडिअम र क्याल्सिअमजस्ता धातुका कारण त्यस्तो रङ्ग निस्किन्छ। आतिसबाजी गर्दा बारुद जल्दा पनि त्यस्तै हुन्छ ।

"यो उल्कावर्षा एउटा सुन्दर रात्रिकालीन घटना हो जसमा धेरै उल्काहरू आकाशको उही क्षेत्रबाट आएको देखिन्छ," यूनिभर्सिटी अफ वारिकमा खगोलशास्त्र तथा एस्ट्रोफिजिक्स प्राध्यापन गर्ने डा मिन्जेइ किम बताउँछन्।

उल्कावर्षा कसरी र कति बेला हेर्ने?

राति आकाशमा जुनसुकै ठाउँमा पनि उल्का देख्न सकिन्छ । आकाश राम्ररी देखिने गरी खुल्ला भएको बेला र अँध्यारो ठाउँमा बस्दा जेमिनिड्स उल्कावर्षाको रमाइलो दृश्य हेर्न सहज हुन्छ ।

केही दिनअघिदेखि नै जेमिनिड्स उल्कावर्षा सुरु भइसकेको छ । यूकेमा बिहीवार राति जीएमटी ७ः३० बजेतिर यो उल्कावर्षा उत्कर्षमा पुग्न थाल्ने अनुमान गरिएको  छ।

नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि त्यो अवधि सुरु हुन्छ ।

वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा जयन्त आचार्य भन्छन्, "नेपालमा बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेतिर उल्का खसेको दृश्य राम्ररी देख्न सकिन्छ।"

आकाशमा कतातिर हेर्ने?

जेमिनिड्स उल्कावर्षा हेर्न आकाशको कुन भागतिर फर्किने भन्ने निधो गर्न स्टारगेजिङ एप उपयोगी हुने किमको सल्लाह छ । "यदि तपाईँले मिथुन तारामण्डल ठम्याउनुभयो भने यो उल्कावर्षा हेर्न सजिलो हुन्छ," उनले भने ।

अन्धकारमा आँखालाई अनुकूल बनाउन केही समय लिन पनि उनले सुझाएका छन् । उनका अनुसार सँगै अर्को साथी भयो भने आकाशका विभिन्न भाग नियाल्न सजिलो हुन्छ ।

कारणवश उत्कर्षमा पुगेको बेला जेमिनिड्स देख्न सकिएन भने पनि आगामी साता डिसेम्बर २० सम्म उल्कावर्षा जारी रहन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्