भिजिट भरतपुर–२०२४ क्वाड्राङ्गुलर टि–ट्वान्टी क्रिकेट हुने

शुक्रबार, मंसिर २२, २०८०

चितवन - चितवन जिल्ला क्रिकेट संघको आयोजनामा चार जिल्ला सम्मिलित ‘भिजिट भरतपुर–२०२४ क्वाड्राङ्गुलर टि–ट्वान्टी क्रिकेट’ प्रतियोगिता हुने भएको छ ।

संघले आज (शुक्रबार) नारायणगढ पुल्चोकस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा यहि मङ्सिर २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।


प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्सा गरी ४ टोलीको सहभागीता रहनेछ । प्रतियोगिता सिङ्गल राउन्ड लिगका आधारमा खेलाइनेछ ।

अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाण–पत्रको व्यवस्था गरिएको संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । यो प्रतियोगितालाई आगामी दिनहरुमा पनि चारवटा जिल्ला मिलेर नै आयोजना गर्दै लैजाने योजना रहेको उनले बताए ।

साथै, चितवन जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिती चयन भएपछि हालसम्म संघले गरेका कार्यहरुका बारेमा समेत जानकारी गराइएको थियो । क्याम्पाचौरको नेट मर्मत सम्भार, विभिन्न नगर प्रमुखहरुसंग क्रिकेट संरचना बिस्तार गर्ने बारेमा छलफल, बालबालिकालाई क्रिकेटमा आकर्षित गर्न हरेक शनिबार क्याम्प संचालन लगायतका गतिविधीहरु गरिएको संघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्