महिला टी–२० सिरिज : जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

शनिबार, मंसिर २, २०८०

काठमाडौँ - चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो ।

नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्